साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको छ ।
वित्तीय संस्थामा मर्ज भएको साविक आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न वार्षिक साधारणसभाबाट पारित नगद लाभांश वितरण गरिए पनि केही सेयरधनीले हालसम्म लाभांश नबुझेको संस्थाले जनाएको छ । लाभांश बुझ्न बाँकी रहेका सेयरधनीलाई संस्थाको सेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा सम्पर्क गरी नगद लाभांश बुझिलिन आग्रह गरिएको छ ।
हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) नगरेका सेयरधनीले यथाशीघ्र प्रमाणपत्र अभौतिकीकरण गराउनुपर्नेछ । त्यस्तै, डिम्याट खाता सञ्चालन भएको निक्षेप सदस्यको कार्यालयमा आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नभएको अवस्थामा बैंक खाता अद्यावधिक गर्न पनि संस्थाले आग्रह गरेको छ ।
धितोपत्र रोक्का भएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त फुकुवापत्र वा ‘नो अब्जेक्सन लेटर’ संस्थाको सेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटलमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ । पाँच वर्षको अवधि पूरा भइसकेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ ।



