सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) तथा अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आज बसेको वार्षिक साधारण सभाबाट अनुमोदन भएर वितरण गरिनेछ ।
गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले करिब रु. ३.४७ अर्ब खुद नाफा आर्जन गर्दै आफ्नो वित्तीय आधारलाई थप मजबुत बनाएको छ । बैंकको पूँजी आधार, जगेडा कोष तथा नेटवर्थमा भएको उल्लेखनीय वृद्धिले बैंकको दीर्घकालीन स्थायित्व तथा भविष्यको व्यवसायिक सम्भावनालाई अझ बलियो बनाएको छ ।
विगत पाँच आर्थिक वर्षमा बैंकले क्रमशः १३१६ प्रतिशत, ४.२१ प्रतिशत, ४ प्रतिशत, १०.५३ प्रतिशत तथा हाल २० प्रतिशत लाभांश प्रस्ताव गर्दै आएको तथ्यले बैंकको सुदृढ वित्तीय व्यवस्थापन तथा दिगो प्रतिफल वितरण क्षमताको पुष्टि गर्दछ ।
सिद्धार्थ बैंकको सफलता लाभांश वितरणमा मात्र सीमित छैन । बैंकले डिजिटल रूपान्तरणलाई आफ्नो रणनीतिक प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, भौतिक तथा डिजिटल क्रेडिट कार्ड लगायतका आधुनिक बैंकिङ सेवामार्फत ग्राहकलाई सहज, सुरक्षित र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्दै आएको छ ।
बैंकले संस्थागत सुशासन, पारदर्शिता तथा नियामकीय अनुपालनलाई आफ्नो व्यवसायिक संस्कृतिको अभिन्न अङ्गका रूपमा अवलम्बन गर्दै आएको छ । त्यस्तै, बैंकले वित्तीय सुदृढता, उत्कृष्ट सुशासन, डिजिटल नवप्रवर्तन, ग्राहक केन्द्रितता तथा शेयरधनीप्रतिको प्रतिबद्धतालाई सन्तुलित रूपमा अगाडि बढाउँदै नेपालको बैंकिङ क्षेत्रको एक अग्रणी, विश्वासिलो तथा जिम्मेवार संस्थाका रूपमा आफ्नो पहिचान अझ मजबुत बनाउँदै गएको छ ।


