Banijya News

निर्यातमा उच्च वृद्धि तर व्यापार घाटा साढे ३ खर्ब नजिक

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो हुँदा व्यापार घाटा थप चुलिएको हो ।

समीक्षा अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यसैगरी, वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च रहे पनि आयातको कुल परिमाण धेरै भएकाले व्यापार घाटा घट्न सकेको छैन ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको वस्तु व्यापार घाटा ८.६ प्रतिशतले बढेको थियो । यस वर्ष भने व्यापार घाटा वृद्धिदर थप उच्च देखिएको छ ।

गन्तव्यका आधारमा समीक्षा अवधिमा भारततर्फको निर्यात ७०.६ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात १३७.६ प्रतिशतले वृद्धि भएको छ । अन्य मुलुकतर्फको निर्यातसमेत २२.७ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर धागो, पाम तेल, जिंक सिट र पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ । यद्यपि, आयुर्वेदिक औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज तथा कागजजन्य वस्तु र जडीबुटीको निर्यात भने घटेको छ ।

आयाततर्फ भारतबाट हुने आयात २७.४ प्रतिशतले बढेको छ । त्यस्तै, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले आयात वृद्धि भएको छ । पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल, यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पाट्र्सको आयात बढेको छ ।

यसको विपरीत सुन, धान तथा चामल, हवाईजहाजका स्पेयर पाट्र्स, पोलिथिन ग्रान्युल्स तथा मेडिकल उपकरण र पाट्र्सको आयात घटेको छ ।

यस अवधिमा निर्यात–आयात अनुपातमा सुधार देखिएको छ । यस्तो अनुपात अघिल्लो वर्षको सोही अवधिमा १५.५ प्रतिशत रहेकामा बढेर १९.१ प्रतिशत पुगेको छ । यसले कुल आयातको तुलनामा निर्यातको हिस्सा बढ्दै गएको देखाउँछ ।

यसैगरी, भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३७ अर्ब ९३ करोड रुपैयाँ बराबरका वस्तु आयात गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । यसले निर्यातमा सुधार भए पनि आयात निर्भरता र व्यापार घाटाको दबाब कायम रहेको देखाएको छ ।

1

Scroll to Top