Banijya News

बाढीपीडितको २१ अर्बको बीमा दाबी, भुक्तानी भने २३ करोड मात्रै

1
1.1K Shares

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार १८ वटा निर्जीवन बीमा कम्पनीमा कुल २० अर्ब ९० करोड ४५ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको हो ।

प्राधिकरणका अनुसार उक्त बाढीबाट प्रभावित २ हजार ४२७ जना बीमितले विभिन्न शीर्षकमा बीमा दाबी गरेका छन्। तर, दाबी परेको ठूलो रकममध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ मात्रै भुक्तानी भएको छ । यसले प्रारम्भिक दाबी र बीमितले प्राप्त गरेको भुक्तानीबीच ठूलो अन्तर रहेको देखाउँछ ।

तथ्यांकअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमातर्फ परेको छ । यस शीर्षकमा ९ अर्ब ५७ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ ४ अर्ब ३९ करोड ७२ लाख ५८ हजार रुपैयाँ र मोटर बीमातर्फ २ अर्ब ८५ करोड ३४ हजार रुपैयाँ बराबरको दाबी परेको छ ।

यसैगरी, परिवहन बीमातर्फ २ अर्ब ३४ करोड ५ लाख ९१ हजार रुपैयाँ, अन्य बीमातर्फ १ अर्ब ५० करोड १० लाख ३२ हजार रुपैयाँ र स्वास्थ्य बीमातर्फ २३ करोड ९१ लाख ४४ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

भुक्तानीतर्फ सम्पत्ति बीमामा ८ करोड ६२ लाख ८३ हजार रुपैयाँ, इन्जिनियरिङ तथा ठेक्का जोखिममा ३० लाख रुपैयाँ, मोटर बीमामा ६ करोड ७४ हजार रुपैयाँ, परिवहन बीमामा ७ करोड ८२ लाख ७२ हजार रुपैयाँ र अन्य बीमामा ७६ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । उक्त रकममा अग्रिम भुक्तानीसमेत समावेश छ ।

बाढीका कारण सम्पत्ति, सवारीसाधन, पूर्वाधार तथा अन्य क्षेत्रमा ठूलो क्षति पुगेपछि बीमा दाबी बढेको देखिएको छ । यद्यपि, प्रारम्भिक दाबीको तुलनामा भुक्तानी रकम न्यून रहेकाले प्रभावित बीमितले क्षतिपूर्ति पाउन अझै समय कुर्नुपर्ने देखिन्छ ।

1

Scroll to Top