Banijya News

अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेशको बाटो खुल्यो, दुई वर्षसम्मको आशयपत्र व्यवस्था

1
1.0K Shares

सरकारले नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी अन्तरदेशीय व्यापारसम्म विस्तार गर्ने उद्देश्यसहित निजी क्षेत्रका लागि नयाँ व्यवस्था अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निजी कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न सैद्धान्तिक सहमति दिने उद्देश्यले आशयपत्र जारी गर्ने निर्णय गरेका हुन् ।

यससँगै लामो समयदेखि विद्युत् व्यापारमा प्रवेशको माग गर्दै आएको निजी क्षेत्रका लागि बजार खोजी र व्यावसायिक तयारी गर्ने औपचारिक बाटो खुलेको छ । नयाँ व्यवस्थाअनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीले स्वदेशी तथा विदेशी बजारको सम्भाव्यता अध्ययन गर्न, सम्भावित विद्युत् खरिदकर्ता र व्यापारिक साझेदार पहिचान गर्न तथा विद्युत् खरिद–बिक्री सम्झौताका लागि प्रारम्भिक तयारी गर्न सक्नेछन् । यसअघि निजी क्षेत्र मुख्यतः विद्युत् आयोजना निर्माण र उत्पादनमा सक्रिय रहे पनि अन्तरदेशीय बजारमा व्यापारको तयारी गर्ने स्पष्ट संयन्त्रको अभाव थियो ।

आशयपत्र प्राप्त कम्पनीले प्रचलित कानुनअनुसार विद्युत् व्यापारको प्राविधिक, वित्तीय तथा व्यावसायिक सम्भाव्यता अध्ययन गर्न पाउनेछन् । त्यस्तै, सम्भावित खरिदकर्ता र साझेदारसँग वार्ता, समन्वय तथा छलफल अघि बढाउन र प्रस्तावित कारोबारका सर्त समेटेर सम्झौताको मस्यौदा तयार गर्न सक्ने व्यवस्था गरिएको छ । यसबाट विद्युत् उत्पादनमा लगानी गर्नुअघि नै बजार, मूल्य र सम्भावित मागबारे जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि, आशयपत्र प्राप्त गर्दैमा कम्पनीले विद्युत् किनबेच गर्न पाउने छैनन् । औपचारिक विद्युत् व्यापार सञ्चालन, खरिद–बिक्री सम्झौता कार्यान्वयन, प्रसारण क्षमता बुकिङ तथा प्रसारण प्रणालीमा खुला पहुँच प्रयोग गर्न सम्बन्धित कानुनबमोजिम छुट्टै अनुमतिपत्र, स्वीकृति र प्राविधिक व्यवस्था पूरा गर्नुपर्नेछ । त्यसैले आशयपत्रलाई व्यापार सञ्चालनको अनुमति नभई त्यसको पूर्वतयारी गर्ने आधारका रूपमा लिइएको छ ।

सरकारले आशयपत्रको दुरुपयोग रोक्न विभिन्न सर्तसमेत निर्धारण गरेको छ । आशयपत्र प्राप्त गरेको आधारमा भविष्यमा विद्युत् व्यापारको अनुमतिपत्र पाउने अधिकार सिर्जना भएको दाबी गर्न पाइने छैन । कम्पनी र सम्भावित साझेदारबीच हुने समझदारी वा सम्झौताका कारण नेपाल सरकारमाथि कुनै वित्तीय वा अन्य दायित्व सिर्जना हुने छैन ।

आवेदन दिने कम्पनीले आफू कानुनबमोजिम कालोसूचीमा नरहेको, पेस गरेका कागजात तथा विवरण सत्य रहेको र आशयपत्र दुरुपयोग गर्ने उद्देश्य नरहेको स्वघोषणा गर्नुपर्नेछ । आशयपत्र प्राप्त कम्पनीले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र मन्त्रालयमा प्रगति प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिवेदनमा सम्पन्न काम, उपलब्धि, लक्ष्यअनुसारको प्रगति, देखिएका समस्या र आगामी कार्ययोजना समावेश गर्नुपर्नेछ ।

आवश्यक परे मन्त्रालयले थप कागजात र स्पष्टीकरण माग्न सक्नेछ । कम्पनीको स्वामित्व वा सेयर संरचनामा परिवर्तन गर्दा पनि प्रचलित कानुनअनुसार आवश्यक पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । सर्त उल्लंघन भएमा, विवरण झुटो वा भ्रामक ठहरिएमा अथवा सार्वजनिक हित र विद्युत् प्रणालीको सुरक्षित सञ्चालनका लागि आवश्यक देखिएमा सरकारले आशयपत्र निलम्बन, संशोधन वा खारेज गर्न सक्नेछ ।

आशयपत्रको अवधि प्रचलित कानुनबमोजिम वा जारी भएको मितिदेखि अधिकतम दुई वर्षसम्म रहनेछ । म्याद थप गर्न चाहने कम्पनीले अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअघि प्रगति विवरण र म्याद थपको कारणसहित मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।

सरकारको यो कदमले नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट बजारमुखी प्रणालीतर्फ लैजान सहयोग पुग्ने अपेक्षा गरिएको छ । निजी क्षेत्रले सम्भावित बजार, खरिदकर्ता, मूल्य, कारोबारका सर्त र जोखिमको अध्ययन गर्न पाएमा विद्युत् आयोजनामा हुने लगानीलाई वास्तविक बजारको मागसँग जोड्न सकिनेछ । साथै, अन्तरदेशीय विद्युत् व्यापारमा प्रतिस्पर्धा बढाउन र नेपालको जलविद्युत् उत्पादनको बजार विस्तार गर्नसमेत यसले आधार तयार गर्न सक्ने देखिन्छ ।

1

Scroll to Top