Banijya News

बाढीको असरबीच विद्युत् निर्यातबाट असोजमा झण्डै ६ अर्ब आम्दानी

1
1.0K Shares

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्यांकअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । उक्त परिमाणको विद्युत् बिक्रीबाट प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।

गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसको तुलनामा चालु वर्षको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ । यस्तै, चालु आर्थिक वर्षको भदौमा भएको ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको कारोबारभन्दा असोजमा ८३ करोड २५ लाख रुपैयाँ बढी कारोबार भएको प्राधिकरणले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । वर्षायाममा आन्तरिक माग पूरा गरेपछि बचत हुने विद्युत् भारत तथा बंगलादेशमा निर्यात गर्दै आएको प्राधिकरणका लागि यो आम्दानी महत्वपूर्ण बनेको छ ।

असोज महिनामा भारततर्फ विद्युत् निर्यात दुई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार बिक्री गरिएको थियो । बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको उनले बताए । बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिइएकाले कारोबार रकम बढेको उनको भनाइ छ ।

यसैबीच, नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि विद्युत् निर्यात रोकिएको थियो । गत शुक्रबार साँझदेखि भने निर्यात पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको हो । नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न अनुमति प्राप्त भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गरिँदै आएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार, बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्वपूर्ण उपलब्धि हो । यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापन र क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात गर्न अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यातका लागि स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ । थप विद्युत् निर्यातको अनुमति र बंगलादेशतर्फको निर्यात पुनः सञ्चालनले नेपालको वर्षायाममा उत्पादित अतिरिक्त विद्युत्‌को बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top