Banijya News

मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

1
1.0K Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । यससम्बन्धी सहकार्यका लागि बैंक र जनकपुर बोल्ट्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । यसै सन्दर्भमा मुक्तिनाथ विकास बैंकले जनकपुर बोल्ट्ससँग साझेदारी गर्दै क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तीकरणमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता प्रदान गरेको छ । यससँगै प्रतियोगितामा खेलाडीले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछन् । यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न र खेल जीवनको आधिकारिक अभिलेख निर्माण गर्न थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस सहकार्यले जर्सीमा लोगो राख्ने कार्यमा मात्र सीमित नभई क्रिकेटमार्फत समुदायसँग जोडिने र युवा प्रतिभालाई प्रोत्साहन गर्ने बैंकको प्रतिबद्धता प्रतिबिम्बित गरेको बताएका छन् । एनपीएलको तेस्रो सिजनमा जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा बैंकले गर्व महसुस गरेको जनाएको छ ।

त्यसैगरी, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोट्र्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा स्वागत गरेका छन् । उनले बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने सोच र मधेसका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्राबीच समानता रहेको बताए ।

खतिवडाका अनुसार, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले यस सिजन पनि उपाधि जितेर जनकपुर फर्काउने लक्ष्य राखेको छ । आईसीसीको आधिकारिक मान्यताले खेलाडीका लागि प्रतियोगिताको महत्त्व थप बढाएको उल्लेख गर्दै उनले बैंकको साथले मैदानभित्र र बाहिर टोलीलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।

बैंक र टोलीबीचको यस सहकार्यले मधेश प्रदेशका युवा खेलाडीलाई प्रोत्साहन गर्न तथा नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top