सर्वोच्च अदालतले कैद हद कायम भएको कारण देखाएर मात्रै कैदीलाई प्यारोल सुविधा दिन अस्वीकार गर्न नमिल्ने व्याख्या गरेको छ । कानुनअनुसार कैदको अवधि निर्धारण हुनुलाई अतिरिक्त छुट वा सहुलियत मानेर प्यारोलबाट वञ्चित गर्नु उचित नहुने अदालतको ठहर छ । कैद हद र प्यारोल फरक कानुनी व्यवस्था भएकाले एउटाको सुविधा पाएको आधारमा अर्काको मूल्यांकनबाटै हटाउन नमिल्ने फैसलामा उल्लेख छ ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विक्रम माझीको निवेदनमा यस्तो व्याख्या गरेको हो । अदालतले माझीलाई प्यारोलका लागि सिफारिस नगर्ने संघीय प्रोबेशन तथा प्यारोल बोर्डको निर्णय बदर गर्दै कानुन र निर्धारित मापदण्डअनुसार पुनः मूल्यांकन गरी उचित निर्णय गर्न परमादेश जारी गरेको छ ।
झापाको शिवसताक्षीका माझीलाई लागुऔषधसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा काठमाडौं जिल्ला अदालतले क्रमशः १० वर्ष र पाँच वर्ष कैद सजाय सुनाएको थियो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३६(१)(क) अनुसार उनको हकमा १० वर्ष कैद कार्यान्वयन हुने गरी कैद हद कायम गरिएको थियो ।
२०७५ पुस २९ गते पक्राउ परेका माझीले करिब साढे सात वर्ष कैद भुक्तान गरिसकेका थिए । कारागारमा उनको आचरण राम्रो रहेको भन्दै नख्खु कारागार कार्यालयले प्यारोलमा राख्न सिफारिसका लागि संघीय प्रोबेशन तथा प्यारोल बोर्डमा पत्र पठाएको थियो । तर, महान्यायाधिवक्ताको अध्यक्षतामा रहने बोर्डले कैद हदको सुविधा पाइसकेको व्यक्तिलाई पुनः अर्को सुविधा दिन नमिल्ने आधार देखाउँदै २०८३ असार ३ गते उनलाई प्यारोलका लागि सिफारिस नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध माझी सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चले कैद हद कायम हुनु र कैद छुट पाउनु फरक विषय भएको स्पष्ट पारेको छ । कानुनको दफा ३६(१)(क) लागू हुने अवस्थामा पहिलेको फैसलाअनुसारको कैद अवधि पछिल्लो फैसलाको भन्दा बढी वा बराबर भए पहिलेको कैद सजाय कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । यस्तो अवस्थामा कैद हद कायम गर्नु अदालत वा अधिकारीको स्वेच्छामा निर्भर नभई कानुनले अनिवार्य गरेको व्यवस्था भएको फैसलामा उल्लेख छ ।
त्यसैले, कानुनबमोजिम कैद हद कायम भएको अवस्थालाई अतिरिक्त सहुलियत मानेर प्यारोल सुविधाको मूल्यांकनबाटै वञ्चित गर्न नमिल्ने अदालतको निष्कर्ष छ । प्यारोल स्वतः प्राप्त हुने अधिकार नभए पनि कानुनले तोकेका पूर्वसर्त पूरा गरेका व्यक्तिलाई त्यसबाट वञ्चित गर्दा उचित र कानुनसम्मत आधार आवश्यक हुने सर्वोच्चले जनाएको छ ।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २९ अनुसार एक वर्षभन्दा बढी कैद सजाय पाएको, सजायको दुई तिहाइ अवधि भुक्तान गरेको र राम्रो आचरण भएको कसुरदारलाई सम्बन्धित बोर्डको सिफारिसमा जिल्ला अदालतका न्यायाधीशले प्यारोलमा राख्ने आदेश दिन सक्छन् । यद्यपि, कानुनले केही कसुरमा प्यारोल सुविधा दिन रोक लगाएको छ ।
फैसलाअनुसार, माझीले प्यारोलका लागि आवश्यक तीनवटै पूर्वसर्त पूरा गरेका थिए । उनी दोषी ठहरिएको कसुर पनि प्यारोल दिन नमिल्ने सूचीमा थिएन । कैदीलाई प्रोबेशन तथा प्यारोलमा राख्ने मापदण्ड, २०८० ले समेत कैद हद कायम भएका व्यक्तिलाई सोही कारण प्यारोलबाट वञ्चित गर्ने व्यवस्था नगरेको अदालतले उल्लेख गरेको छ ।
सर्वोच्चले माझीलाई तत्काल प्यारोलमा रिहा गर्न आदेश दिएको भने होइन । बोर्डले सिफारिस अस्वीकार गर्दा लिएको आधार कानुनसम्मत नभएको ठहर गर्दै पुनः मूल्यांकन गर्न आदेश दिएको हो । २०८३ भदौ २६ गते भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।



