दशैँ बिदापछि खुलेको शेयर बजारमा पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । दशैँ बिदाअघि निरन्तर सात कारोबार दिन बढेको नेप्से आज सोमबार ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ ।
नेप्से घटेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । गत असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज कारोबार भएकामध्ये बेनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ५२ रुपैयाँ ९० पैसा बढेर ४०५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य ५ प्रतिशत बढेको छ । कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ भने माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । सोमबार व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत घटेको छ ।



