कामना सेवा विकास बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा करिब १७ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६.९९ प्रतिशतले वृद्धि भई २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घट्नु र गैरब्याज आम्दानी बढ्नुले मुख्य योगदान दिएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि ११ करोड ६ लाख रुपैयाँ छुट्याएको बैंकले चालु आवको सोही अवधिमा ४ करोड ९४ लाख १७ हजार रुपैयाँ मात्र छुट्याएको छ । यसले बैंकको सञ्चालन आम्दानीमा सुधार ल्याउन सहयोग गरेको छ ।
बैंकको खुद सञ्चालन आम्दानी गत वर्षको पहिलो त्रैमासमा ६४ करोड ३७ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा बढेर ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि देखिएको छ । गत वर्ष ६१ करोड ७६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख रुपैयाँ पुगेको हो ।
यस अवधिमा बैंकको सेवा शुल्क तथा कमिसन आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ४४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवको सोही अवधिमा ३०.५८ प्रतिशतले बढेर ११ करोड २ लाख रुपैयाँ पुगेको छ । ब्याजबाहेकका आम्दानीमा भएको वृद्धिले बैंकको समग्र वित्तीय नतिजा सुधार गर्न मद्दत गरेको देखिन्छ ।
व्यापार विस्तारतर्फ बैंकले निक्षेप र कर्जा दुवैमा वृद्धि गरेको छ । गत असार मसान्तमा ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ रहेको ग्राहक निक्षेप २.६१ प्रतिशतले बढेर असोज मसान्तमा ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कर्जा प्रवाह ३.९५ प्रतिशतले बढेको छ । गत असार मसान्तमा ५४ अर्ब २० करोड ३८ लाख रुपैयाँ रहेको कर्जा लगानी बढेर ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ पुगेको हो ।
बैंकको सम्पत्तिको गुणस्तरमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आवको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ । खुद निष्क्रिय कर्जा अनुपात पनि १.२४ प्रतिशतबाट घटेर ०.८४ प्रतिशत कायम भएको छ । यसैगरी, खराब कर्जाबापतको जोखिम धान्ने बैंकको प्रावधान क्षमता (प्रोभिजन कभरेज) १०७.६९ प्रतिशतबाट बढेर ११५.४१ प्रतिशत पुगेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार भएको छ । गत वर्षको तुलनामा २ रुपैयाँ ६७ पैसाले बढेर प्रतिसेयर आम्दानी २३ रुपैयाँ १३ पैसा पुगेको बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ, जसमा ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत अग्राधिकार सेयरसमेत समावेश छ । बैंकको जगेडा कोष २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र पुँजी पर्याप्तता अनुपात १२.९७ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ ।
यता, बजारमा ब्याजदर घट्ने क्रमसँगै बैंकको आधार दर, निक्षेप लागत र ब्याजदर अन्तरमा पनि संकुचन आएको छ । बैंकको आधार दर ६.५५ प्रतिशतबाट घटेर ५.३६ प्रतिशतमा झरेको छ भने निक्षेपको लागत ४.५९ प्रतिशतबाट घटेर ३.५० प्रतिशत कायम भएको छ । बैंकको स्प्रेड दर पनि गत वर्षको ४.३२ प्रतिशतबाट घटेर ३.९५ प्रतिशतमा सीमित भएको छ ।
बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.८९ प्रतिशत रहेको छ । कर्जा प्रवाह बढे पनि स्प्रेड दर घटेका कारण खुद ब्याज आम्दानीमा सोहीअनुसार वृद्धि हुन सकेको छैन । यद्यपि, कर्जा नोक्सानी व्यवस्थामा आएको कमी र सेवा शुल्क तथा कमिसन आम्दानीमा भएको वृद्धिले पहिलो त्रैमासमा बैंकको खुद नाफा बढाउन सहयोग गरेको छ ।



