कुनै समय आक्रामक व्यावसायिक विस्तार र देशभर शाखा सञ्जाल फैलाएर ग्राहक आकर्षित गरेको एनआईसी एसिया बैंक अहिले शाखा कार्यालय धमाधम बन्द गर्ने रणनीतिमा अघि बढेको छ । सञ्चालन खर्च घटाउने र वित्तीय अवस्थामा सुधार ल्याउने उद्देश्यले बैंकले शाखा समायोजनलाई तीव्रता दिइरहँदा ग्राहकले भने सहज बैंकिङ सेवाको सट्टा झन्झट बेहोर्नुपरेको गुनासो गर्न थालेका छन् ।
गत वैशाखमा एकैपटक ४४ वटा शाखा कार्यालय बन्द गरेको बैंकले पुनः विभिन्न जिल्लाका सातवटा शाखा बन्द गर्ने तयारी गरेको छ । उपलब्ध विवरणअनुसार काठमाडौंको ठूलोभर्याङ, रुपन्देहीका राममन्दिर बुटवल, देवीनगर र देवकोटा चोक, झापाको फाल्गुनन्द चोक तथा भक्तपुरका ट्याङ्लाफाँट र पुरानो ठिमी शाखा बन्द गर्ने सूचीमा छन् । ती शाखालाई नजिकका अन्य शाखामा समायोजन गर्ने योजना रहेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खर्च व्यवस्थापन र आवश्यकताअनुसार शाखा समायोजन गर्न नीतिगत सहजीकरण गरेपछि एनआईसी एसियाले शाखा बन्द गर्ने क्रम बढाएको हो । शाखा सञ्चालनको लागत घटाउनु बैंकका लागि आर्थिक दृष्टिले उपयोगी हुन सक्छ । तर, खर्च कटौतीको रणनीति कार्यान्वयन गर्दा ग्राहकको पहुँच र सेवाको गुणस्तरलाई बेवास्ता गरिए त्यसले दीर्घकालीन रूपमा बैंककै व्यावसायिक हितमा असर पार्न सक्छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै ३५ वटाभन्दा बढी शाखा कार्यालय बन्द गरिएको विवरण छ । शाखा संख्या घट्दै जाँदा बाँकी कार्यालयमा ग्राहकको चाप बढेको छ । पहिले घर वा कार्यस्थल नजिकैको शाखाबाट सेवा लिँदै आएका ग्राहक अहिले अर्को शाखामा पुग्न बाध्य भएका छन् । त्यहाँ पनि लामो लाइनमा बस्नुपर्ने र सामान्य कारोबारका लागि समेत घण्टौँ समय खर्चिनुपर्ने अवस्था रहेको ग्राहकहरूको गुनासो छ ।
काठमाडौंको कमलादीस्थित बैंकको कार्यालयमा रकम जम्मा गर्न वा झिक्न दुईदेखि तीन घण्टासम्म कुर्नुपर्ने अवस्था रहेको ग्राहकहरू बताउँछन् । यस्तो समस्याले नियमित बैंकिङ कारोबार गर्ने व्यवसायी, ज्येष्ठ नागरिक तथा कार्यालय समयमा सेवा लिनुपर्ने व्यक्तिलाई थप असहज बनाएको छ । बैंकिङ सेवा छिटो, सरल र पहुँचयोग्य हुनुपर्नेमा शाखा बन्द भएपछि ग्राहकले थप समय र खर्च बेहोर्नुपर्ने अवस्था देखिएको छ ।
एनआईसी एसियाले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारामार्फत ग्राहकसँग आत्मीय सम्बन्ध स्थापित गर्ने प्रयास गर्दै आएको छ । तर, शाखा बन्द गर्ने निर्णयसँगै बाँकी कार्यालयमा सेवाको चाप व्यवस्थापन गर्न नसकिए नाराले व्यक्त गरेको प्रतिबद्धता र ग्राहकको वास्तविक अनुभवबीच दूरी बढ्ने जोखिम छ । ग्राहकको विश्वास बैंकको दीर्घकालीन व्यवसायको आधार भएकाले खर्च घटाउने निर्णयलाई सेवाको गुणस्तर सुधारसँगै अघि बढाउनु आवश्यक हुन्छ ।
बैंकका लागि अहिले खराब कर्जा नियन्त्रण, कर्जा असुलीमा सुधार, आम्दानीको गुणस्तर वृद्धि र सञ्चालन खर्च व्यवस्थापन महत्त्वपूर्ण हुन सक्छन् । तर, शाखा बन्द गर्नु मात्रै वित्तीय सुधारको पर्याप्त उपाय होइन । शाखाको कारोबार, ग्राहकको संख्या, वैकल्पिक शाखाको दूरी र डिजिटल सेवाको पहुँच मूल्यांकन गरेर मात्रै समायोजन गर्नु उपयुक्त हुन्छ ।
शाखा बन्द गरिएका स्थानका ग्राहकलाई डिजिटल बैंकिङ, एटीएम, पर्याप्त कर्मचारी र छिटो सेवा उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन नसकिए खर्च कटौतीको भार ग्राहकले नै बेहोर्नुपर्नेछ । त्यसैले, बैंकले शाखा घटाउने निर्णयसँगै बाँकी कार्यालयमा सेवा क्षमता बढाउने, ग्राहकको प्रतीक्षा समय घटाउने र गुनासो सम्बोधन गर्ने संयन्त्र बलियो बनाउन आवश्यक छ ।
खर्च कटौतीका नाममा शाखा घटाउँदै जाने तर बाँकी शाखामा ग्राहकलाई घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था कायम रहँदा बैंकको ‘बैंक पनि साथी पनि’ भन्ने नारामाथि नै सवाल उब्जिने छ । साथै, तत्कालीन खर्च बचतले दीर्घकालमा ग्राहकको विश्वास र बैंकको प्रतिस्पर्धात्मक क्षमतामा नकारात्मक असर पार्न सक्नेतर्फ ध्यान दिन पनि उत्तिकै जरुरी छ ।


