Banijya News

तिहारमा फूल र मालाको कारोबार ६४ करोड नाघ्ने अनुमान

1
1.0K Shares

यस वर्षको तिहारमा नेपालमा फूल, माला र गमलाको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार तिहारमा ४८ करोड रुपैयाँबराबरका विभिन्न फूलका माला तथा १६ करोड ५० लाख रुपैयाँबराबरका फूलका पोली र गमलाको बिक्री हुने प्रक्षेपण गरिएको हो ।

फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार तिहारको समयमा सयपत्री, मखमली र गोदावरी फूलको माग उच्च रहने गर्छ । यस वर्ष तिहार अवधिभरमा विभिन्न प्रकारका ५१ लाख ८० हजार माला खपत हुने अनुमान गरिएको छ । त्यस्तै, सयपत्री फूलका पोली तथा बोट र गोदावरी फूलका गमलाको बिक्री पनि उल्लेख्य हुने अपेक्षा गरिएको छ ।

यस वर्ष ४५ लाख सयपत्री, ६ लाख मखमली, २० हजार गोदावरी र ६० हजार मिक्स फूलका माला खपत हुने अनुमान गरिएको छ । गत वर्षको तिहारमा ४० लाख सयपत्री मालाको खपत भएको थियो । बजार विस्तार र उत्पादन बढेका कारण यस वर्ष गत वर्षभन्दा पाँच लाख बढी सयपत्री मालाको माग हुने श्रेष्ठले जानकारी दिए ।

गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले केही क्षेत्रमा सयपत्री फूलको खेतीमा क्षति पुर्‍याएको थियो । त्यसका कारण स्वदेशी उत्पादनले माग धान्न नसक्ने भएपछि अपुग हुने पाँच लाख सयपत्री माला भारतबाट आयात गर्ने अपेक्षा गरिएको छ । बाँकी ४० लाख माला भने स्वदेशी उत्पादनबाटै आपूर्ति हुने फ्यानले जनाएको छ ।

फ्यानका अनुसार यस वर्ष सयपत्री मालाको औसत थोक मूल्य प्रतिगोटा ९० रुपैयाँ अनुमान गरिएको छ । यसअनुसार ४५ लाख सयपत्री मालाको कारोबार ४० करोड ५० लाख रुपैयाँ हुनेछ । प्रतिगोटा ४५ रुपैयाँका दरले ६ लाख मखमली मालाको कारोबार दुई करोड ७० लाख रुपैयाँ पुग्ने अनुमान छ ।

त्यस्तै, प्रतिगोटा एक हजार २०० रुपैयाँका दरले २० हजार गोदावरी मालाको कारोबार दुई करोड ४० लाख रुपैयाँ र प्रतिगोटा ४०० रुपैयाँका दरले ६० हजार मिक्स फूलका मालाको कारोबार पनि दुई करोड ४० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसरी तिहारमा माला बिक्रीबाट मात्रै ४८ करोड रुपैयाँको कारोबार हुने प्रक्षेपण गरिएको छ ।

मालाबाहेक यस वर्ष ३५ लाख सयपत्री फूलका पोली तथा बोट बिक्री हुने अनुमान गरिएको छ । प्रतिगोटा ३० रुपैयाँका दरले यसको कारोबार १० करोड ५० लाख रुपैयाँ पुग्ने अपेक्षा छ । त्यस्तै, प्रतिगोटा ७५ रुपैयाँका दरले आठ लाख गोदावरी फूलका गमला बिक्री हुँदा छ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

नेपालमा हाल २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । मुख्य सहरी तथा बजार क्षेत्रमा फूलको कुल मागमध्ये करिब ८८.८९ प्रतिशत स्वदेशी उत्पादनबाट पूर्ति हुने गरेको फ्यानले जनाएको छ । बाँकी ११.११ प्रतिशत माग आयातलगायतका विभिन्न स्रोतबाट व्यवस्थापन हुँदै आएको छ ।

मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । तिहारमा आवश्यक पर्ने छ लाख मखमली मालामध्ये चार लाख स्वदेशी बजारमा खपत हुने र दुई लाख माला निर्यात हुने फ्यानको अनुमान छ ।

काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी र बडिखेल, धादिङ, पाल्पा, कैलाली तथा इलामलगायतका क्षेत्रमा मखमली फूलको व्यावसायिक खेती हुँदै आएको छ ।

सयपत्री फूलको बढ्दो मागसँगै पछिल्लो समय सातवटै प्रदेशमा यसको व्यावसायिक खेती विस्तार भइरहेको अध्यक्ष श्रेष्ठले बताए । काठमाडौं उपत्यकासहित चितवन, काभ्रे, झापा, मोरङ, सुनसरी, धनुषा, सर्लाही, रुपन्देही, कास्की, बाँके, दाङ र कैलालीलगायतका जिल्लामा सयपत्री फूलको खेती हुँदै आएको छ । फूलखेतीको विस्तारले तिहारको बढ्दो माग पूरा गर्न स्वदेशी उत्पादनको योगदान बढ्दै गएको छ ।

1

Scroll to Top