स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि बढाएको छ । संस्थाको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजी बराबरकै अनुपातमा थप शेयर निष्कासन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । संस्थाको दशौं वार्षिक साधारण सभा आगामी मंसिर १४ गते सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित द एसआर होटलमा हुने भएको छ ।
सभामा हाल कायम १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँ चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ । प्रस्ताव पारित भएमा योग्य शेयरधनीले आफूसँग रहेको प्रत्येक एक कित्ता शेयर बराबर थप एक कित्ता हकप्रद शेयर पाउनेछन् । यद्यपि, शेयर निष्कासनका लागि सम्बन्धित निकायको स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै संस्थाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिने भएको छ । साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषयसमेत कार्यसूचीमा रहेको छ ।
त्यसैगरी, अन्य ‘घ’ वर्गका इजाजतपत्रप्राप्त वित्तीय संस्थासँग गाभिने वा कुनै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितको वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत राखिएको छ । वार्षिक साधारण सभाका लागि संस्थाले मंसिर २० गते बुक क्लोज गर्ने जनाएको छ ।


