सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य रूपमा बढाएको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १३१.१३ प्रतिशतले वृद्धि भएर १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४५ करोड ४९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ५९ करोड ६५ लाख रुपैयाँभन्दा बढीले बढेको हो ।
बैंकको नाफामा भएको उच्च वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकममा आएको कमी, खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा सेवा शुल्क र कमिसनबाट प्राप्त आम्दानीको योगदान देखिएको छ ।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी ९.४२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, सेवा शुल्क तथा कमिसनबाट हुने आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ३० करोड ४९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवमा ४६.८६ प्रतिशतले वृद्धि भएर ४४ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
बैंकको नाफा बढ्नुको अर्को प्रमुख कारण कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम घट्नु हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि ९५ करोड ६७ लाख ७५ हजार रुपैयाँ छुट्याएको बैंकले चालु आवको सोही अवधिमा ३३ करोड ९ लाख ७६ हजार रुपैयाँ मात्रै छुट्याएको छ ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले निक्षेप र कर्जा दुवैमा वृद्धि गरेको छ । गत असार मसान्तमा २ खर्ब ४८ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ रहेको ग्राहक निक्षेप २.०८ प्रतिशतले बढेर असोज मसान्तमा २ खर्ब ५४ अर्ब १० करोड ९९ लाख रुपैयाँ पुगेको छ । यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा १.७८ प्रतिशतले बढेर १ खर्ब ९९ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कायम भएको छ । गत असार मसान्तमा यस्तो कर्जा १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ थियो ।
बजारमा ब्याजदर घट्ने क्रमसँगै बैंकको आधार दर र निक्षेपको लागत पनि घटेको छ । बैंकको आधार दर ५.५९ प्रतिशतबाट घटेर ४.६० प्रतिशतमा झरेको छ भने निक्षेपको लागत ४.३२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशत कायम भएको छ । त्यस्तै, ब्याजदर अन्तर (स्प्रेड दर) ३.६५ प्रतिशतबाट घटेर ३.१७ प्रतिशतमा सीमित भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात भने ७९.२३ प्रतिशत रहेको छ ।
सम्पत्तिको गुणस्तरमा पनि सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आवमा घटेर २.८६ प्रतिशतमा झरेको छ । खुद निष्क्रिय कर्जा अनुपात पनि १.५८ प्रतिशतबाट घटेर १.०८ प्रतिशत कायम भएको छ । कुल खराब कर्जाविरुद्धको सुरक्षण क्षमता जनाउने प्रोभिजन कभरेज अनुपात १०५.४६ प्रतिशतबाट बढेर १३६.७१ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी अग्राधिकार सेयरसहित १५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात ९.७० प्रतिशत रहेको छ । वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ १५ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १३.४७ गुणा रहेको छ ।



