सरकारले सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारको पूर्वतयारीका लागि निजी क्षेत्रका पाँच कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको हो । यससँगै विद्युत् उत्पादनमा केन्द्रित निजी क्षेत्र अब विद्युत् व्यापारमा समेत प्रवेश गर्ने तयारीमा जुटेको छ ।
विद्युत् व्यापारको अनुमति माग गर्दै कुल १६ कम्पनीले मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये पहिलो चरणमा पाँच कम्पनीलाई आशयपत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ । बाँकी आवेदन दिएका कम्पनीलाई पनि आवश्यक प्रक्रिया पूरा गर्दै क्रमशः आशयपत्र उपलब्ध गराइने बताइएको छ ।
सरकारले यसअघि मन्त्रीस्तरीय निर्णयमार्फत निजी कम्पनीलाई विद्युत् व्यापारको पूर्वतयारी गर्न बाटो खुला गरेको थियो । सोही निर्णयअनुसार कम्पनीहरूलाई व्यापारका लागि आवश्यक अध्ययन, बजार पहिचान तथा व्यावसायिक तयारी अघि बढाउन आशयपत्र प्रदान गरिएको हो ।
मन्त्रालयको सूचीमा ग्रिन इनर्जी पावर ट्रेडिङ, ट्रान्स एसियन पावर ट्रेडिङ, नेपाल पावर ट्रेडिङ एन्ड म्यानेजमेन्ट, नेपाल पावर एक्सचेन्ज (नेपेक्स), पावर ट्रेडिङ एन्ड इको इनर्जी, पावर ट्रेडिङ एन्ड इनर्जी एक्सचेन्ज, निफ्रा ट्रेडिङ एन्ड इनर्जी एक्सचेन्ज, हिमालयन पावर ट्रेडिङ कम्पनी, एभरेस्ट पावर ट्रेडिङ, क्रस बोर्डर इनर्जी, वेस्ट सेती ट्रान्समिसन र ऊर्जा ट्रेड इन्टरनेसनललगायत कम्पनी समावेश छन् ।
यद्यपि, आशयपत्र प्राप्त गर्दैमा कम्पनीहरूले तत्काल विद्युत् खरिद–बिक्री गर्न भने पाउने छैनन् । मन्त्रालयका अनुसार आशयपत्र विद्युत् व्यापारको पूर्वतयारीका लागि मात्र प्रदान गरिएको हो। यसबाट कम्पनीहरूले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन गर्न, सम्भावित खरिदकर्ता र व्यापारिक साझेदार पहिचान गर्न तथा प्राविधिक र वित्तीय सम्भाव्यता अध्ययन गर्न सक्नेछन् ।
वास्तविक रूपमा विद्युत् व्यापार सञ्चालन गर्न भने कम्पनीहरूले अन्तिम अनुमतिपत्र प्राप्त गर्नुपर्नेछ । त्यसका लागि सम्बन्धित निकायको स्वीकृति, प्रसारण प्रणालीमा पहुँच तथा आवश्यक कानुनी र प्राविधिक सर्त पूरा गर्नुपर्ने हुन्छ ।
नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै जाँदा आन्तरिक खपतभन्दा बढी हुने विद्युत्का लागि क्षेत्रीय बजार खोज्नु आवश्यक बन्दै गएको छ । यस्तो अवस्थामा निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने सरकारी पहलले भारत र बंगलादेशलगायत बजारमा नेपालको विद्युत् निर्यात विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निजी क्षेत्रको प्रवेशले विद्युत् व्यापारमा प्रतिस्पर्धा बढाउनुका साथै नयाँ लगानी, व्यापारिक साझेदारी र बजार विस्तारका अवसर सिर्जना गर्न सक्नेछ । यसबाट नेपालको अतिरिक्त विद्युत् व्यवस्थापन र निर्यात आम्दानी बढाउने सम्भावनासमेत रहनेछ ।
तर, निजी कम्पनीलाई पूर्ण विद्युत् व्यापार अनुमतिपत्र प्रदान गर्ने विषयमा विद्यमान कानुनी व्यवस्था प्रमुख चुनौतीका रूपमा रहेको छ । विद्युत् ऐन, २०४९ संशोधन नभएसम्म निजी क्षेत्रलाई पूर्ण रूपमा विद्युत् व्यापारको लाइसेन्स दिन कानुनी अड्चन रहने मन्त्रालयले जनाएको छ ।
उक्त बाधा हटाउन ऊर्जा मन्त्रालयले केही नेपाल ऐन संशोधनमार्फत कानुनी प्रक्रिया अघि बढाएको छ । संशोधनसम्बन्धी विधेयक हाल कानुन मन्त्रालयमा विचाराधीन रहेको बताइएको छ । कानुनी व्यवस्था संशोधन भएर आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै निजी कम्पनीले विद्युत् व्यापारको अन्तिम अनुमतिपत्र प्राप्त गर्ने बाटो खुल्नेछ ।


