चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ । उद्योग विभागका अनुसार, साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको थियो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लगानी प्रतिबद्धता १८ अर्ब ९० करोड रुपैयाँले घटेको हो । यसले नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको अवस्था कमजोर बनेको देखाउँछ ।
उद्योग विभागका अनुसार, असोज मसान्तसम्म कुल ४२२ उद्योग दर्ता भएका छन् । तीमध्ये ४१० उद्योग अटोमेटिक रुट र १२ उद्योग अप्रुभल रुटबाट दर्ता भएका हुन् । असोज महिनामा मात्रै ५ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उक्त महिनामा ९४ उद्योग दर्ता भएका थिए, जसमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट आएका हुन् ।
दर्ता भएका उद्योगको प्रकृतिअनुसार साना उद्योगको बाहुल्य देखिएको छ । असोजसम्म दर्ता भएका उद्योगमध्ये ४१७ साना, दुई मझौला र तीन ठूला उद्योग छन् । असोज महिनामा दर्ता भएका सबै ९४ उद्योग साना प्रकृतिका रहेको विभागले जनाएको छ ।
संख्यात्मक हिसाबले सूचना प्रविधिमूलक उद्योगमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । पहिलो त्रैमासमा २५२ सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् । त्यस्तै पर्यटनमूलक १०८, सेवामूलक ३३, उत्पादनमूलक २५ तथा ऊर्जा र कृषितर्फ दुई–दुई उद्योग दर्ता भएका छन् ।
यद्यपि, लगानी रकमका आधारमा पर्यटन क्षेत्र पहिलो स्थानमा रहेको छ । यस क्षेत्रमा ६ अर्ब ८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । त्यस्तै ऊर्जा क्षेत्रमा चार अर्ब रुपैयाँ र पूर्वाधारमूलक उद्योगमा तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ ।
उत्पादनमूलक उद्योगमा एक अर्ब ६० करोड रुपैयाँ र सूचना प्रविधिमूलक उद्योगमा ९२ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको विभागको तथ्यांक छ । उद्योग संख्यामा सूचना प्रविधि क्षेत्र अगाडि देखिए पनि लगानी रकमका आधारमा पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्र प्रमुख बनेका छन् ।



