Banijya News

नेप्से परिसूचक ३१.५४ अंकले बढ्यो, कारोबार रकम साढे ६ महिनायताकै उच्च

1
1.0K Shares

नेप्से परिसूचक आज विहीबार बढेर बन्द भएको छ । हिजो बुधबार बढेर बन्द भएको नेप्से आज विहीबार पनि ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । हिजो बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा विहीबार ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आजको शेयर कारोबार रकम करिब साढे छ महिनायताकै उच्च हो । यसअघि गत बैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्बको शेयर खरिदबिक्री भएको थियो ।

आज कारोबार भएकामध्ये बेनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ८० रुपैयाँ ५० पैसा बढेर ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ३.६५ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top