मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ । लामो समयसम्म निर्माण कार्यले अपेक्षित गति लिन नसकेपछि सडक डिभिजन इलामले ९.५ किलोमिटर सडक खण्डको ठेक्का तोडेको हो ।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको उक्त खण्डको निर्माणका लागि २०७८ असार २९ गते ठेक्का सम्झौता भएको थियो । २०८० पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि पटक–पटक म्याद थप गर्दा समेत आयोजना पूरा हुन सकेन ।
कुल ६३ महिनासम्म निर्माणका लागि समय उपलब्ध गराउँदा पनि सडकको भौतिक प्रगति ४७ प्रतिशतमा मात्रै सीमित भएको थियो । पछिल्लो सात महिनामा निर्माण प्रगति ३ प्रतिशतभन्दा कम भएपछि सडक डिभिजनले २०८३ कात्तिक ११ गते ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो ।
यसैबीच, सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म निर्माणमा ढिलाइ गर्ने तथा सम्झौताअनुसार काम नगर्ने १२ वटा आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिसकेको जनाएको छ । निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारमाथि कारबाही अघि बढाउँदै सरकारी रकम असुल गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
डिभिजनका अनुसार, ठेक्का सम्झौता अन्त्य गरिएका आयोजनाबाट पेस्कीबापत २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ । त्यस्तै, कार्यसम्पादन जमानतबापतको ६ करोड ७९ लाख रुपैयाँ जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ । कानुन तथा ठेक्का सम्झौताबमोजिम असुल गर्नुपर्ने अन्य सरकारी बाँकी रकमसमेत असुल गरिने डिभिजनले जनाएको छ ।
मेची करिडोरको महत्वपूर्ण सडक खण्ड निर्माणमा भएको ढिलाइले स्थानीयवासी तथा यात्रुको आवागमन प्रभावित हुन सक्ने देखिएको छ । अधुरो सडक निर्माणलाई पुनः कसरी अघि बढाइन्छ भन्ने विषय अब चासोको विषय बनेको छ ।


