चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) थप बढेको छ । कर्जा असुलीमा देखिएको चुनौती र ऋणीहरूको भुक्तानी क्षमतामा परेको दबाबका कारण बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम बढ्दै गएको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.८६ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा चालु आवको असोज मसान्तसम्ममा बढेर ५.६४ प्रतिशत पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६.११ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये अधिकांशको खराब कर्जा बढेको छ । प्रभु बैंकको खराब कर्जा सबैभन्दा उच्च देखिएको छ । गत वर्षको असोजमा ५.७८ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको सोही अवधिमा बढेर १४.८० प्रतिशत पुगेको छ । यो १५६.०५ प्रतिशतको वृद्धि हो । अन्य बैंकहरूको तुलनामा प्रभु बैंकको खराब कर्जा निकै उच्च देखिएको छ ।
त्यस्तै, एनआईसी एशिया बैंकको खराब कर्जा ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को खराब कर्जा ६.६३ प्रतिशतबाट बढेर ८.८७ प्रतिशत पुगेको छ । कुमारी बैंकको पनि ६.९८ प्रतिशत रहेको खराब कर्जा बढेर ८.७२ प्रतिशत कायम भएको छ ।
यसैगरी, प्राइम बैंकको खराब कर्जा ५.८६ प्रतिशतबाट बढेर ७.१५ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ७.३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ । एनएमबी बैंकको खराब कर्जा पनि ४.५८ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत कायम भएको छ ।
अन्य बैंकहरूको खराब कर्जामा पनि सामान्य वृद्धि देखिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७१ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ । नेपाल एसबीआई बैंकको ३.०१ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशतबाट बढेर ५.५८ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.८३ प्रतिशतबाट बढेर ३.८९ प्रतिशत कायम भएको छ । कृषि विकास बैंकको खराब कर्जामा भने सामान्य वृद्धि देखिएको छ । गत वर्ष ४.७८ प्रतिशत रहेको खराब कर्जा चालु आवको पहिलो त्रैमासमा ४.७९ प्रतिशत पुगेको छ ।
यता, २० वाणिज्य बैंकमध्ये सात बैंकले भने खराब कर्जा घटाउन सफल भएका छन् । सिटिजन्स बैंकको खराब कर्जा ६.८४ प्रतिशतबाट घटेर ६.८० प्रतिशत पुगेको छ । सिद्धार्थ बैंकको ३.८० प्रतिशतबाट घटेर ३.७० प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशत कायम भएको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकको खराब कर्जा ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत पुगेको छ । नबिल बैंकको ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशत र नेपाल बैंकको ५.४९ प्रतिशतबाट घटेर ४.६१ प्रतिशतमा झरेको छ ।
खराब कर्जा घटाउने बैंकमध्ये सानिमा बैंकले तुलनात्मक रूपमा राम्रो सुधार गरेको छ । बैंकको खराब कर्जा गत वर्षको असोजमा ३.९१ प्रतिशत रहेकोमा चालु आवको पहिलो त्रैमासमा घटेर २.८६ प्रतिशतमा सीमित भएको छ । एभरेष्ट बैंकको खराब कर्जा भने सबैभन्दा कम रहेको छ । गत वर्ष ०.७४ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.५० प्रतिशत कायम भएको छ ।
समग्रमा वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै जानुले बैंकिङ क्षेत्रमा कर्जा असुलीको चुनौती कायमै रहेको देखाउँछ । केही बैंकले खराब कर्जा घटाउन सफल भए पनि ठूला बैंकसहित अधिकांश संस्थामा यसको अनुपात बढ्नुले कर्जा व्यवस्थापन र असुली प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । खराब कर्जा बढ्दा बैंकहरूको कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) खर्च बढ्न सक्ने र त्यसले नाफा तथा वितरणयोग्य मुनाफामा समेत दबाब सिर्जना गर्न सक्छ ।


