नेपालका २८ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार सञ्चालन हुँदै आए पनि आयात तथा निर्यातको ठूलो हिस्सा सीमित नाकामा केन्द्रित रहेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा भएको कुल आयातको झण्डै आधा हिस्सा वीरगञ्ज भन्सार नाकाबाट मात्रै भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार, साउनदेखि असोजसम्म नेपालले ६ खर्ब ४६ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ । त्यसमध्ये वीरगञ्ज नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँबराबरको वस्तु भित्रिएको छ । यो कुल आयातको ४८.३० प्रतिशत हो ।
पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा अन्य वस्तुको ठूलो परिमाणमा आयात हुने भएकाले वीरगञ्ज नाका नेपालको वैदेशिक व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा रहँदै आएको छ ।
आयातसँगै निर्यातमा पनि यस नाकाको हिस्सा उल्लेख्य छ । पहिलो त्रैमासमा नेपालबाट भएको करिब १ खर्ब १४ अर्ब रुपैयाँको कुल निर्यातमध्ये वीरगञ्जबाट मात्रै ४७ अर्ब ९२ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।
आयातका आधारमा वीरगञ्जपछि भैरहवा दोस्रो ठूलो व्यापारिक नाका बनेको छ । पहिलो त्रैमासमा भैरहवाबाट ९८ अर्ब ८१ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १५.२८ प्रतिशत हो । त्यस्तै, विराटनगर नाकाबाट ७८ अर्ब ३३ करोड रुपैयाँबराबरको वस्तु आयात हुँदा यसको हिस्सा १२.११ प्रतिशत रहेको छ ।
यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ७.९८ प्रतिशत हो। अन्य प्रमुख नाकामध्ये नेपालगञ्जबाट २३ अर्ब ९१ करोड, मुस्ताङबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँबराबरको वस्तु भित्रिएको विभागको तथ्यांक छ ।
यसैबीच, उत्तरी नाकामा देखिएको अवरोधले नेपालको वैदेशिक व्यापारमा दक्षिणी नाकामाथिको निर्भरता थप बढाएको छ । भदौ १० गते आएको बाढीपछि नेपाल–चीन व्यापार रसुवागढीलगायतका नाकामा प्रभावित हुँदा मुस्ताङ नाकामार्फत हुने व्यापारमा समेत दबाब परेको छ । कालीगण्डकी क्षेत्रमा देखिएको समस्याले उत्तरी व्यापार थप प्रभावित बनेको छ ।
रसुवागढी नाकामा बाढीको असर परेपछि चोभारस्थित सुक्खा बन्दरगाहको कारोबारसमेत सुस्ताएको छ । पहिलो त्रैमासमा चोभारबाट ४ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु मात्रै आयात भएको छ ।
नेपालका २८ वटा भन्सार विन्दु सञ्चालनमा रहे पनि व्यापारिक कारोबार केही सीमित नाकामा अत्यधिक निर्भर रहेको तथ्यांकले देखाएको छ । विशेषगरी वीरगञ्ज नाकाले मात्रै कुल आयातको झण्डै आधा हिस्सा ओगट्नुले वैदेशिक व्यापारमा भौगोलिक तथा पूर्वाधारगत जोखिमसमेत बढाएको छ ।
उत्तरी नाकामा हुने अवरोध वा वीरगञ्जजस्ता प्रमुख नाकामा देखिने कुनै पनि समस्या हुँदा समग्र आपूर्ति प्रणाली प्रभावित हुन सक्ने भएकाले वैकल्पिक नाकाको क्षमता विस्तार, सडक तथा भन्सार पूर्वाधारको विकास र व्यापारिक मार्गको विविधीकरण आवश्यक देखिएको छ ।



