Banijya News

दुई महिनादेखि ई–जीपी प्रणाली बन्द हुँदा ठेक्का र विकास निर्माण प्रभावित

1
1.0K Shares

सरकारी ठेक्का तथा सार्वजनिक खरिद प्रक्रियालाई अनलाइन माध्यमबाट सञ्चालन गर्ने विद्युतीय खरिद प्रणाली (ई–जीपी) दुई महिनादेखि बन्द हुँदा सरकारी खरिद प्रक्रिया प्रभावित भएको छ । प्रणाली ठप्प भएपछि विभिन्न सरकारी निकायले सञ्चालन गर्नुपर्ने बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा ठेक्का प्रक्रियामा ढिलाइ भएको हो । यसको असर विकास निर्माणका आयोजनामा समेत पर्न थालेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले गम्भीर साइबर सुरक्षा जोखिम देखिएपछि गत भदौ ११ गतेदेखि पुरानो ई–जीपी प्रणाली स्थगित गरेको थियो । प्रणाली बन्द भएपछि सार्वजनिक निकायलाई अस्थायी रूपमा कागजी प्रक्रियामार्फत बोलपत्र आह्वान तथा प्रस्ताव बुझ्ने व्यवस्था मिलाइएको छ ।

पुरानो प्रणालीमा बोलपत्रको गोपनीयता भंग हुन सक्ने, प्रतिस्पर्धीले प्रस्ताव गरेको रकम सार्वजनिक हुन सक्ने तथा अनधिकृत पहुँचमार्फत बोलपत्रमा हेरफेर हुन सक्ने जोखिम देखिएको थियो । यस्तो जोखिमले सार्वजनिक खरिदको निष्पक्षता र प्रतिस्पर्धात्मक प्रक्रियामा असर पार्न सक्ने भएकाले प्रणाली नै बन्द गरेर नयाँ संस्करण निर्माण गर्ने निर्णय गरिएको हो ।

नयाँ ई–जीपी प्रणाली सरकारी सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले तयार पारेको छ । हाल उक्त प्रणालीको प्राविधिक परीक्षणसँगै साइबर सुरक्षा परीक्षण भइरहेको छ । प्रणाली सञ्चालनमा ल्याउनुअघि देखिन सक्ने प्राविधिक तथा सुरक्षा कमजोरी पहिचान गरी समाधान गर्ने काम भइरहेको जनाइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका कम्प्युटर अधिकृत निर्मल लामाका अनुसार नयाँ प्रणाली तिहारअघि नै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । नयाँ संस्करण सञ्चालनमा आएपछि सरकारी निकायले अनलाइनबाटै बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा खरिदसम्बन्धी अन्य प्रक्रिया अघि बढाउन सक्नेछन् ।

ई–जीपी प्रणालीलाई सार्वजनिक खरिदमा पारदर्शिता, प्रतिस्पर्धा र गोपनीयता कायम गर्ने महत्वपूर्ण माध्यम मानिन्छ । तर, लामो समयदेखि प्रणाली बन्द रहँदा कागजी प्रक्रियामा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । अब नयाँ प्रणालीले पुरानो संस्करणका सुरक्षा कमजोरी सम्बोधन गर्दै रोकिएका खरिद तथा ठेक्का प्रक्रियालाई कति छिटो डिजिटल माध्यममा फर्काउन सक्छ भन्ने चासोको विषय बनेको छ ।

1

Scroll to Top