विराटनगर आसपासको सार्वजनिक जग्गा गैरकानुनी रूपमा छुट दर्ता गराई हिनामिना गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कात्तिक १७ गते मंगलबार विशेष अदालतमा पाँच सय पृष्ठ लामो अभियोगपत्र पेस गर्दै ७३ करोड ४९ लाख रुपैयाँ बिगो दाबी गरेको हो ।
यस प्रकरणमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्र्रधानमन्त्री नेपालसँगै पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल, पूर्वभूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वमुख्यसचिव स्वर्गीय माधव घिमिरेका तर्फबाट उनकी छोरी कमला घिमिरे तथा पूर्वसचिव छविराज पन्तलाई प्रतिवादी बनाइएको छ ।
अख्तियारले यस प्रकरणमा ५९ बिघा ९ कट्ठा सार्वजनिक जग्गा जफत गर्नसमेत विशेष अदालतसमक्ष माग गरेको छ । सार्वजनिक जग्गा छुट दर्ता गराउने प्रक्रियामा अनियमितता भएको र मन्त्रिपरिषद्को निर्णयबाट निजी कम्पनीलाई जग्गा छुट दिँदा सरकारी सम्पत्तिमा हानिनोक्सानी पुगेको अख्तियारको दाबी छ ।
त्यस्तै, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी र हुपेन्द्रमणि केसी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हरिराज पन्त, नुरपति कँडेल, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटासहित विभिन्न तहका सरकारी अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीसमेत मुद्दामा मुछिएका छन् ।
अख्तियारका अनुसार २०६६ मंसिर १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिले छुट पाएको जग्गामा अनियमितता भएको हो । उक्त निर्णयबाट सार्वजनिक जग्गा निजी प्रयोजनमा जाने अवस्था सिर्जना हुँदा सरकारी सम्पत्तिमा हानिनोक्सानी पुगेको आयोगको आरोप छ । पाँच सय पृष्ठको अभियोगपत्र हाल विशेष अदालतमा रुजु भइरहेको र मुद्दा दर्ताको प्रक्रिया अघि बढिरहेको अदालत स्रोतले जनाएको छ ।
यसअघि पनि अख्तियारले काभ्रेको साँगास्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितका व्यक्तिविरुद्ध २०८२ जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा हदबन्दीभन्दा बढी रहेको ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा बिक्री गर्दा अनियमितता भएको दाबी गरिएको छ । सोही प्रकरणमा नेपालविरुद्ध मात्रै १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।


