कम्पनीहरुले विगतका आर्थिक वर्षमा तिर्न बाँकी कर, शुल्क, दस्तुर तथा जरिवाना बुझाउने म्याद पुस मसान्तसम्म थप गरिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै यस्तो सुविधा चालु आर्थिक वर्ष २०८३/८४ को पुस मसान्तसम्म उपलब्ध हुने जनाएको हो ।
कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई सञ्चालनमा रहेका कम्पनीहरुले कारोबारलाई निरन्तरता दिन वा कम्पनी दर्ता खारेज गर्न चाहेमा यो सुविधा लिन सक्नेछन् ।
कार्यालयका अनुसार, सम्बन्धित कम्पनीहरुले पुस मसान्तभित्र आवश्यक विवरण पेस गरी कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला गरेमा अघिल्ला आर्थिक वर्षहरुमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ ।
यसका लागि कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ भन्दा अघिका आर्थिक वर्षहरुको विवरणसमेत कार्यालयको अनलाइन प्रणाली सीएएमआईएसमार्फत पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र प्रक्रिया पूरा गर्ने कम्पनीले मात्र उक्त सुविधाको लाभ लिन पाउनेछन् ।
अर्थ मन्त्रालयले गत कात्तिक ९ गते यस्तो सुविधा प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसम्बन्धी सूचना कात्तिक १६ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।



