March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

चालू आर्थिक वर्षको चौमासमा सुदूरपश्चिम प्रदेशको बजेट खर्च २ अर्व ९ करोड ८६ लाख भन्दा बढी

चालू आर्थिक वर्षको चौमासमा सुदूरपश्चिम प्रदेशको बजेट खर्च २ अर्व ९ करोड ८६ लाख भन्दा बढी

मंसिर १७, काठमाडौं ।
चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च यस वर्ष गत वर्ष भन्दा १ दशमलव ७६ प्रतिशतले खर्च वृद्धि भएको छ । प्रदेश सरकारले पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात् २ अर्व ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ ।

Advertisement

गत आवको यसै अवधिमा कुल बजेटको ४ दशमलव ५३ मात्र खर्च भएको थियो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि कुल ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये प्रदेश सरकारले पहिलो चौमासमा चालूतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार र पूँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार खर्च गरेको हो ।
गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तर्फ ५ दशमलव ४० प्रतिशत र पूँजीगत तर्फ ३ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको थियो ।

Advertisement

चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा अवधिसम्ममा भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कार्यान्वयन ८ दशमलव २५, सामाजिक विकास मन्त्रालयको ८ दशमलव शून्य ८, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका ४ दशमलव २९, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ७ दशमलव ४५, आर्थिक मामिला तथा योजना मन्त्रालयको शून्य दशमलव ८१, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १ दशमलव २९ र आन्तिरिक मामिला तथा कानून मन्त्रालयको ८ दशमलव ८८ प्रतिशत बजेट कार्यान्वयन भएको पाइएको छ ।

त्यस्तै प्रदेशसभा सचिवालयको १९ दशमलव ५१ प्रतिशत र वित्तीय हस्तान्तरण स्थानीय तहमा ८ दशमलव ५१ प्रतिशत खर्च भएको देखिएको छ भने वित्तीय व्यवस्था र अर्थ व्यवस्था अन्तर्गतको प्रगति शून्य रहेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले यस वर्ष ९० प्रतिशत भन्दा बढी बजेट खर्च हुने दावी गरे ।

सुदूरपश्चिम प्रदेश सरकारको राजस्व असुलीमा पनि वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सरकारले ६७ करोड ७० लाख ३० हजार राजस्व संकलन गरेको छ । गत आवको यसै अवधिमा ३१ करोड ९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।