April 21, 2025, Monday
[nepali_today_date]

दस दिनको लागि चल्ला उत्पादन नगर्ने

दस दिनको लागि चल्ला उत्पादन नगर्ने

मंसिर २८, २०७६ कठमाडौं ।
मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला १० दिनसम्म उत्पादन नहुने भएको छ । नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिको भेलाले १० दिन सम्मको लागि चल्ला उत्पादन नगर्ने भएको हो । शनिबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष टीकाराम पोखरेलले माग भन्दा उत्पादन बढी भएको र मूल्य पनि नआएका कारण यस्तो निर्णय गरेको बताउनुभयो ।
भेलामा देशभरबाट जम्मा भएका १ सय ५० जना उद्योगीहरुले एकमतले यो निर्णय गरेको हो । नेपालमा हाल प्रति हप्ता ब्रोइलरका ४५ लाख र कलर ब्रोइलरका एक लाख ७० हजार चल्ला उत्पादन भइरहेको संघको तथ्याङ्क छ । चल्ला उत्पादन नगर्ने भनेका कारण ह्याचरी मेशिनमा सेट गरी सकेका अण्डाहरु पनि शुक्रबारदेखि नै झिकेर नष्ट गरेको हो । १० दिनसम्म ६० लाख चल्ला उत्पादन हुने गर्दछ । यी चल्ला बजारमा जाने हो भने ३५ देखि ४० दिनपछि मासुका लागि कुखुरा तयार हुन्छन् । जसबाट एक करोड २० लाख केजी मासु उत्पादन हुने गर्दछ । त्यसैगरी तयारी कुखुराको मूल्य किसानले प्रति केजी १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पाएका छन् । उत्पादन लागत प्रति केजी १९० रुपैयाँसम्म पर्ने गरेको छ ।
ह्याचरीले १० दिन चल्ला उत्पादन रोक्दा लगभग दुई महिनापछि मासुको माग र कुखुराको संख्या मिल्न आउने आशाले यो निर्णय गरेको ह्याचरी उद्योग संघले जनाएको छ ।

Advertisement