January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

श्रमिक नै सुरक्षा कोषमा दर्ता हुन नमानेपछि…

श्रमिक नै सुरक्षा कोषमा दर्ता हुन नमानेपछि…

मंसिर ३०, २०७६ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा दर्ता हुन दिएको निर्देशनप्रति ४५ वटा बैंक तथा वित्तीय संस्था सम्बद्ध वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले आइतबार विज्ञप्ति जारी गरी राष्ट्र बैंकले दिएको निर्देशन तत्काल फिर्ता लिन आग्रह गरेको छ । फिर्ता नगरे कर्मचारी आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले गत मंसिर २४ गते बैंक तथा वित्तिय संस्थहरुलाई सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल हुन निर्देशन दिएपनि संघको यस्तो धारणा आएको हो ।
संघले कर्मचारीहरुसँग साधारण छलफल नै नगरी ल्याइएको सो कोषमा आफूहरु सामेल नै नहुने समेत घोषणा गरेका छन् । सो कोषमा सामेल हुँदा कर्मचारीहरुले अहिले खाइपाई आएको सेवा सुविधा समेत कटौती हुने र आफूहरुको हकहितको ग्यारेन्टी नुहने भन्दै कोषले कार्यविधि नसच्याएमा कोषको सो योजनामा सामेल नहुने संघले घोषणा गरेको हो । यसैगरी एकमुष्ठ पेन्सन सुविधा पाउने व्यवस्था हुनुपर्ने, सामाजिक सुरक्षा योजनामा सहभागिता स्वेच्छिक बनाउनु पर्ने लगायतका माग संघले राखेको छ ।

संघले सरकारी कर्मचारी र निजी क्षेत्रको कर्मचारीविच भएको विभेद अन्त्यको लागि पनि कोषसँग माग गरेको छ । उनीहरुले निवृत्तीभरण कोष ऐन २०७५ र सामाजिक सुरक्षा योजना सन्चालन कार्य्विधिमा रहेको विभेद हटाउन पनि माग गरेका छन् । दोहोरो कर व्यवस्थालाई सम्बोधन गर्नुपर्ने, पेन्सन अवधि ५८ वर्ष नै राखिनुपर्ने, कर्मचारी संचय कोष तथा नागरिक लगानी कोषबाट पाउने सहुलियतपूर्ण ऋण सुविधाको व्यवस्था गर्न समेत संघले माग गरेको छ । संघले भनेको छ,‘ यदि नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशन फिर्ता नलिए हामी दबाबमूलक कार्यक्रमको घोषणा गरी आन्दोलनमा जान बाध्य हुनेछौं, यसबाट परेको असरप्रति सम्बन्धित निकाय नै जिम्मेवार हुनुपर्ने छ ।‘

Advertisement