मुलुकको समग्र आर्थिक अवस्था सुस्त तर सकारात्मक
पुष ३, काठमाडौं ।
चार महिनामा मुलुकको समग्र आर्थिक अवस्था सुस्त तर सकारात्मक देखिएको छ । समग्र आर्थिक परिसूचक सकारात्मक देखिए पनि यो सुधार पहिलाको बर्ष भन्दा सहज देखिन्छ ।
गत वर्ष कात्र्तिकसम्म मुलुकमा भित्रिने रकमको तुलनामा बाहिरिने रकम अर्थात् शोधनान्तर स्थिति ऋणात्मक थियो । जसका कारण मुलुक ५७ अर्ब ३३ करोडले घाटामा थियो । तर आयातमा आएको कमी, विदेश घुम्न तथा पढ्न जानेले लैजाने रकममा आएको कमी जस्ता कारणले यो वर्ष भने शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा देखिएको छ । बजार बढ्दा बजारमा तरलता अभाव देखिएकोमा यो वर्ष कर्जाको वृद्धि निक्षेपको तुलनामा केही कम भएको राष्ट्र बैंकको दाबी छ ।
कर्जाको विस्तार र निर्माण सामग्रीको कच्चा पदार्थ आयातमा सुस्तताले मुलुक गतिहीन स्थिरतामा जान लागेको देखिएको छ । विकास निर्माणको खर्चमा देखिएको कमी र केही ठाउँमा धान उत्पादनमा आएको कमीले समग्रमा मुलुकले अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्ने हो कि भन्ने आशंका जन्माएको छ । विदेश जाने कामदारको संख्या बढेपनि रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने केही कमी आएको छ । गत वर्ष सरकारले हुन्डीमा गरेको कडाइका कारण रेमिट्यान्स हृवात्तै बढेको थियो । यो वर्ष त्यही दरमा वृद्धि नभएको हो । अहिलेको मुल चुनौती भनेको अर्थतन्त्रको दिगो व्यवस्थापनमै छ र यसका लागि उत्पादन र निकासी वृद्धि पहिलो सर्त हो । रेमिट्यान्सको उपयोग र वैदेशिक लगानीलाई आकर्षित गरेर पनि अर्थतन्त्रलाई सही ढंगले व्यवस्थापन गर्नुपर्छ । यसका लागि नीतिगत स्थिरतासहितका पूर्वाधार तयार गर्न ढिलाइ गर्न हुँदैन । जननिर्वाचित सरकार भएकाले उसले राजनीतिक सहमति जुटाएरै पनि यो वातावरण तयार गर्न सक्छ ।
प्रतिकृया दिनुहोस्