February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

कोभिडको कारण जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो

कोभिडको कारण जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो

जेठ ४, टोकियो । जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२० मा ४ दशमलव ६ प्रतिशतले खुम्चिएको छ ।     

Advertisement

सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जीजीपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले बताएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकटका क्रममा जापानको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले संकुचित भएको थियो ।     

साथै यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महीनाको अवधिमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले घटेको छ । जापानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कोरोनाभाइरस संक्रमण रोक्न सरकारले ल्याएको आपतकालीन उपायहरुका कारण अर्थतन्त्रमा मन्दी आएको उल्लेख छ ।     

गत वर्ष नोभेम्बरदेखि कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले टोकियो महानगर क्षेत्रमा जनवरीको शुरुतिर आपतकालीन स्थितिको घोषणा गरेको थियो । तर मार्चको अन्त्यतिर प्रतिबन्ध हटाउनुअघि जापानमा टोकियोसहित ४७ ओटा प्रिफेक्चरमा आपतकाल लगाइएको थियो ।     

आपतकालका दिनहरुमा मानिसलाई घरभित्रै बस्न ताथ रेस्टुराँ र बारहरु खुल्ने समय छोट्याइएको थियो जसबाट निजी उपभोगमा १ दशमलव ४ प्रतिशतले गिरावट आएको थियो ।     

सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा तिब्र रुपमा गिरावट आएको जीडीपीमा अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र पुनः पुरानै लयमा फर्किएको थियो । यस अवधिमा जापानको उपभोग र निर्यात दुबै बढेको थियो ।     

केही विश्लेषकहरुका भनाइमा कोभिड–१९ को आपतकाल घोषणाका कारण जापानको अर्थतन्त्र चालू अप्रिल–जुन अवधिमा पनि केही खुम्चिने छ । जापानमा कोभिड–१९ को खोप लगाउने दर पनि विकसित मुलुकहरुको दाँजोमा न्यून रहेको छ । रासस/  सिन्ह्वा