February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

तिब्बत सरकारद्धारा नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजन सहयोग

तिब्बत सरकारद्धारा नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजन सहयोग

जेठ ६, काठमाडौं ।
कोरोना महामारीको जटिल अवस्थासँग जुधिरहेको नेपाललाई चीनको तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन सहयोग पठाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन स्वास्थ्य सामाग्री सहयोग गरेको हो । बिहीबार बिहान लिक्विड अक्सिजनसहित अन्य स्वास्थ्य सामग्री बोकेर सवारी साधन तिब्बतको ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि ३० हजार लिटर लिक्विड अक्सिजन तिब्बतबाट नेपालका लागि पठाइएको जनाएकी छिन् । ल्हासास्थित नेपाली महावाणिज्यदूत ढकालका अनुसार, तिब्बत सरकारले २०० वटा आईसीयू बेड, ५ वटा भेन्टिलेटर र १० वटा अक्सिजन कन्सन्ट्रेटर दिने भएको छ । यसका लागि कुराकानी भइरहेको उनले जनाएका छन् । तिब्बत सरकारले नेपालतर्फ बिना अवरोध मेडिकल कार्गो आवागमन गराउने प्रतिवद्धता समेत जनाएको छ । जसअनुसार निजी क्षेत्रले ल्याएका सामग्रीहरु तातोपानी नाकातर्फ आइरहेको पनि जनाइएको छ ।

त्यस्तै, तिब्बतको एक कम्पनीले पनि ३० वटा कन्सन्ट्रेटर सहयोग गरेको छ। ती सामान भने शुक्रबार ल्हासाबाट नेपाल पठाइने भएको छ । यससँगै तिब्बतकै ‘गुडविल फाउन्डेसन’ले ५० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्न लागेको महावाणिज्य दूतावासले जनाएको छ। त्यस्तै, ल्हासाले पनि ४ वटा भेन्टिलेटर सहयोग गरेको र तिब्बतका अन्य नगरसँग पनि सहयोगका लागि समन्वय भइरहेको ढकालले जानकारी दिएका छन् ।

Advertisement