कोरोना नियन्त्रणका लागि कर्णालीमा थप ९८ करोड बजेट निकासा, यसरी हुनेछ खर्च
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण व्यवस्थापनका लागि थप रु ९८ करोड ३० लाख बजेट निकासा गरेको छ । प्रदेशको सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई लक्षित गरी बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन् ।
उक्त निकाशा गरिएको बजेट सामाजिक विकास मन्त्रालयका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालमा कोभिड–१९ माहामारी निन्यन्त्रण कार्यक्रमतर्फ ७३ करोड, अक्सिजनलगायत कोभिड–१९ प्रतिकार्य व्यवस्थापनका लागि ११ करोड ५० लाख, स्वास्थ्य सेवा निर्देशनालयका लागि कोभिड–१९ सम्बन्धी प्रतिकार्य व्यवस्थापनका लागि थप १३ करोड ८० लाख गरी जम्मा ९८ करोड ३० लाख रुपैयाँ बजेट निकासा गरेको हो ।
यस्तै, अत्यावश्यक जनशक्ति व्यवस्थापनका लागि १ सय ७३ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करारतर्फ १ सय ८३ जना चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मीको व्यवस्थापन गरी परिचालन गरिएकोमा उनीहरुको ब्यावस्थापन गर्नको लागि निकाशा गरिएको हो । त्यस्तै, प्रदेशका ३३ स्थानीय तह र त्यसअन्तर्गतका रणनीतिक अस्पतालका लागि १२ करोड १२ लाख २० हजार बजेट उपलब्ध गराइएको छ ।
यस्तै, भौगोलिक स्थानबाट हवाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि व्यवस्था गरिएको, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने हेतुले एक सय ३५ प्रतिशतसम्म थप प्रोत्साहन रकमको व्यवस्था गरिएको हो । कोभिड रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागि ५० प्रतिशत थप जोखिम भत्ताको व्यवस्था गरिएको विज्ञप्तिमा भनिएको छ । सबै जिल्ला अस्पतालमा प्रतिजिल्ला ४० लाखका दरले अक्सिजन मिनिप्लान्ट स्थापना तथा सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको हो ।
प्रतिकृया दिनुहोस्