September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

बागमती प्रदेशमा बजेटका लागि प्रदेशसभाको अधिवेशन आह्वान

बागमती प्रदेशमा बजेटका लागि प्रदेशसभाको अधिवेशन आह्वान


बागमती प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिएको छ । असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था अनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो । प्रदेश प्रमुख विष्णु प्रसाईले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १६ गते आइतबार दिउँसो ३ बजेका लागि बजेट अधिवेशन आह्वान गरिएको हो । प्रदेश सभा सचिव कृष्ण खड्काका अनुसार प्रदेश सभामा लामो समयदेखि दर्ता भएर रहेको पर्यटन सम्बन्धी विधेयक र सातौं अधिवेशनमै पेश हुनुपर्ने लोकसेवा आयोगको प्रतिवेदन, मुख्य न्यायाधीवक्ता कार्यालयको प्रतिवेदन र समितिको प्रतिवेदनहरु बजेट अधिवेशनमा पेश हुनेछन् । प्रदेश सरकारको बजेट १ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ । त्यसको १५ दिन अगाडि प्रि–बजेट सदनमा पेश गर्नुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार सरकारले प्रदेशसभाको बैठक आह्वान गरेको एमालेको मुख्य सचेतक दिपक निरौलाले बताए । प्रि–बजेट छलफल पश्चात नीति तथा कार्यक्रम घोषणा गरिने र तोकिएको समयमै बजेट ल्याउने गरी मन्त्रालयले तयारी गरिरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

अविश्वासको प्रस्ताव र विपक्षी दलहरुको मोर्चाबन्दीका कारण प्रदेशसभाको सातौं अधिवेशन लगातार अवरुद्ध भएको थियो । लगातार चार पटकसम्म विपक्षी दलहरुले सदन अवरुद्ध गरेपछि प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको थियो । प्रदेशसभामा विद्युतीय बसको खरिद प्रक्रिया रोक्न, मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता लिन तथा जथाभावी रुपमा वितरण गरिएको बजेटलाई रोक्न माग गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा र नेपाल मजदुर किसान पार्टीले मोर्चाबन्दी गरेका थिए ।

Advertisement