August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा : पुरानै कार्यक्रमलाई प्रथमिकता दिइने

सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा : पुरानै कार्यक्रमलाई प्रथमिकता दिइने

काठमाडौं । देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा छन् । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम तयारीमा लागेका हुन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने संभावना छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८ ÷ ७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साँढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । सोही अनुसार हिजो प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम एमाले एकढिक्का भएपछि आइतबारको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो । उपसभामुख सरस्वती पोखरेलले प्रदेश–१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । यो सँगै प्रदेश १ को सरकारलाई बजेट ल्याउने बाटो खुला भएको थियो ।

प्रदेश २ ले यही वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ । बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

अर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशका १३ वटै जिल्लालाई कोभिड संक्रमितको उपचार, अस्पतालको स्तरोन्नति र खोपलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुने बताए ।

शुक्रबार र शनिबार बसेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले सरकारलाई मार्गदर्शकका रूपमा सुझावहरू प्रस्तुत गरी कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

यसैगरी उक्त बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन गरिनुपर्छ भनि प्रदेशसभाका सदस्यहरू क्रमशः रमेश पौड्याल, नरोत्तम वैद्य, रजनी जोन्च्छे अमात्य, पुकार महर्जन, विजया केसी श्रेष्ठ, शोभा शाक्य, रत्नप्रसाद ढकाल, सीता अधिकारी र सुरेन्द्रराज गोरसाईले राखेका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको छ ।

सोही बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले राखेका थिए । समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ र अर्थ तथा विकास समितिका जेष्ठ सदस्य आङदेण्डी लामाले समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ प्रस्तुत गरेका थिए । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।

दुई दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम पेश हुँदैछ । प्रदेश सरकारले भोलि ३२ अर्ब हाराहारीको बजेट ल्याउने स्रोत बताँउछ ।

लुम्बिनी प्रदेशमा हिजो नीति तथा कार्यक्रम बहुमतले पास भएपछि मुख्यमन्त्री शंकर पोखरेललाई राहत मिलेको छ । उहाँको सरकारले भोली ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ ।

कर्णाली प्रदेशले आगामी वर्षका लागि करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउँदैछ भने सुदुरपश्चिम प्रेशमा बजेटको आकार ३० अर्ब आसपास हुने बुझिएको छ ।

संघीय सरकारले बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएपछि प्रदेशले पनि यसैलाई पछ्याउने देखिन्छ ।