दोस्रो बजारमा ऋणपत्रको कारोवारः खरिद मूल्यभन्दा कममा कारोबार भएपछि बजारमा समस्या
पुस ९, काठमाडौं ।
बुधबारबाट दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमार्फत ऋणपत्रको कारोबार भएको छ । सेयर र म्युचुअल फण्डको कारोबार हुँदै आएकोमा सानिमा बैंकको ५० हजार कित्ता ऋणपत्र दोस्रो पटक विक्री गरेको हो ।
अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहने ऋणपत्र बजारमा भने ९६३ रुपैयाँमा किनबेच भएको छ । बुधबार कुल ४ करोड १८ लाख ५० हजार रुपैयाँको ऋणपत्र कारोबार भएको छ ।
कम्पनीले लगानीका लागि लिने ऋणको साना इकाईलाई वर्गीकरण गरेर दिने प्रत्याभुतिपत्र नै ऋणपत्र हो । सामान्यतः यस्तो ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ हुने गर्दछ । कम्पनीले कुनै सम्पत्ति धितो वा बन्धक नराखी ऋण जुटाउन सक्छ । ऋणपत्र किन्नेलाई कम्पनीले निश्चित अवधिसम्म तोकिएको व्याजदर प्रदान गर्दछ । तोकिएको अवधि पुरा भइसकेपछि लगानीकर्ताले साँवा रकम फिर्ता पाउने छन् । साधारणसभामा भाग लिने, व्यवस्थापनमा असन्तुष्ट जनाउने लगायतका सेयरधनीलाई प्राप्त अधिकांश अधिकार ऋणपत्रका लगानीकर्तालाई हुँदैन । सेयरमाभन्दा ऋणपत्रको जोखिम कम हुन्छ ।
राष्ट्र बैंकले यस आर्थिक वर्षको अन्त्यसम्म सबै बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्न निर्देशन दिएको छ । करिब एक दर्जन वाणिज्य बैंकहरुले अहिलेसम्म ऋणपत्र जारी गरेका छैनन् । अक्सन मार्केटमा किन्ने र बेच्नेले निर्धारण गरेको मूल्यमा सानिमाको ऋणपत्र कारोबार भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ऋणपत्रको बजारमा कारोबार नहुँदा बिक्री प्रवन्धकलाई बेच्नै मुस्किल पर्ने गरेको छ । पछिल्लो समय १० देखि साढे १० प्रतिशतसम्म व्याज पाइने गरेको यस्तो ऋणपत्रमा सर्वसाधारणको आकर्षण भने बढ्न सकेको छैन ।
प्रतिकृया दिनुहोस्