March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

असोज मसान्तभित्र १ करोड ५ लाख मात्रा खोप नेपाल ल्याइँदै, किशोरकिशोरीका लागि फाइजरको ६० लाख

असोज मसान्तभित्र १ करोड ५ लाख मात्रा खोप नेपाल ल्याइँदै, किशोरकिशोरीका लागि फाइजरको ६० लाख

साउन १२, काठमाडौं ।

Advertisement

सरकारले आगामी असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा कोरोनाभाइरस विरुद्धको खोप ल्याउने तयारी गरेको छ । १२ वर्षभन्दा माथिकालाई खोप दिने लक्ष्यसहित सरकारले यो योजना बनाएको हो ।  सोमबार संघीय प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले केपी ओली नेतृत्वको सरकारले बनाएको योजना समेतलाई समावेश गरि असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप नेपाल ल्याउने तयारी भएको  बताए ।

Advertisement

त्यसमा कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख भदौ पहिलो साता नेपाल आउनेछ भने भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप नेपाल आउँदैछ । त्यस्तै चीनबाट ४० लाख खोप खरिद गरिएकामा ३२ लाख डोज आइसकेको छ । चीन सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्धता गरेको भेरोसेल खोप वैदेशिक अनुदानबाट १६ लाख मात्रा साउनकै अन्तिम साता सम्म आईसक्ने भएको छ ।

त्यस्तै भारतको शेरम इष्टिच्युटसँग खरिद गरि भुक्तानी समेत भैसकेको १० लाख मात्रा कोभिसिल्ड खोप आउँन बाँकी रहेकोमा बर्तमान सरकारको पहलमा भदौको दोस्रो साता सम्म नेपाल आईपुग्ने भएको छ ।  नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको ४० लाख र अनुदानमा दिने १६ लाख मात्रा खोप साउनको अन्तिम साता आईसक्ने र थप ६० लाख मात्रा भदौ मसान्तसम्म नेपाल ल्याउँने योजना रहेको पनि सचिव अर्यालले बताए ।  खोप खरिद गर्न आवश्यक पर्ने बजेट विश्व बैंक र एडीबीको सहुलियत ऋणबाट व्यवस्थापन गर्न लागिएको हो । सरकारले खोप खरिद गर्न लाग्ने रकम दुई वटा मोडलबाट भुक्तानी गर्ने नीति लिएको छ । दाताबाट लिएको ऋण सरकारको ढुकुटीमा जम्मा गरेर सरकारले नै खोप कम्पनीलाई भुक्तानी गर्ने वा खरिद गर्दा लाग्ने रकम दातालाई सिधै तिर्न लगाउने  निति लिएको हो ।

सरकारले कुल जनसंख्याको पहिलो प्राथमिकतामा रहेका २ करोड १ सय ५६ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्षसम्मका ४९ लाख गरी जम्मा २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखे अनुरुप असोज मसान्तसम्म ३३ प्रतिशत र चैत महिनाभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य राखेको छ । लक्षित समूहमा १२ देखि १८ बर्ष सम्मका बालबालिका समेत पर्ने सचिव अर्यालले जानकारी गराए । कोभ्याक्सबाट निःशुल्क १ करोड १३ लाख, कोभ्याक्सबाट लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, ज्यानसेन (जोन्सन एण्ड जोन्सन्), एस्ट्राजेनेका आदि १ करोड ५० लाख मात्रा, किशोरकिशोरीका लागि फाइजरको ६० लाख मात्रा खोप आउने भएको छ ।

बालबालिकाका लागि फाइजर खोप आउने निश्चित भएपछि सातै प्रदेशमा माइनस ८० डिग्रीसम्मको खोप भण्डार गर्न मिल्ने संरचना निर्माण अन्तिम चरणमा पुगेको स्वास्थ्य सचिव अर्यालले बताए ।  फाइजर कम्पनीका अनुसार यो खोपलाई लामो समयसम्म भण्डारण गर्न माइनस ६० देखि ८० डिग्रीको तापक्रम आवश्यक पर्छ । तत्काल प्रयोग गर्न भने २ देखि ८ डिग्री सेल्सियसमा ३५ दिन भण्डारण गर्न सकिन्छ । कोभिसिल्ड र भेरोसेल २ देखि ८ डिग्रीमा राख्ने गरिएको छ । फाइजरको दुवै डोजको खोप लक्षणसहितको डेल्टा भेरिएन्टविरुद्ध ८८ प्रतिशत र अल्फा भेरिएन्टविरुद्ध ९३.७ प्रतिशत प्रभावकारी देखिएको छ । त्यसैगरी, अस्ट्राजेनेकाको दुवै डोजको खोप डेल्टा भेरिएन्टविरुद्ध ६७ प्रतिशत तथा अल्फा भेरिएन्टविरुद्ध ७४.५ प्रतिशत प्रभावकारी पाइएको छ ।

सरकारको लक्ष्य अनुरुप हालसम्म नेपालले ९७ लाख ८२ हजार ५ सय ५० मात्रा खोप प्राप्त गरिसकेको छ । त्यसमा कोभ्याक्स सुविधाबाट जम्मा १८ लाख ८२ हजार ८ सय ५० मात्रा, कोभिसिल्ड ३ लाख ४८ हजार, ज्यानसेन अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० डोज रहेको छ । जसमा वैदेशिक अनुदानबाट २९ लाख मात्रा मध्ये चीन सरकारबाट १८ लाख र भारत सरकारबाट ११ लाख मात्रा रहेको छ । नेपाल भित्रिएको खोप खरिदबाट जम्मा ५० लाख मात्रामा कोभिसिल्ड भारतबाट १० लाख, भेरोसेल चीनबाट ३२ लाख रहेको छ । आइतबारसम्म पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जना र पूर्ण खोप १४ लाख ३० हजार ४ सय १६ जना  ले लगाईसकेको सचिव अर्यालले बताए ।