January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

प्रदेश २ मा जन्मिने छोरी अब “लखपती ”

प्रदेश २ मा जन्मिने छोरी अब “लखपती ”

२० माघ, काठमाडौं ।
प्रदेश नम्बर दुईको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत अब तीन लाखको बीमा गर्ने निर्णय गरेको छ । २०७५ माघ १ पछि जन्मेका छोरीहरुको लागि एक लाखको शिक्षा विमा गर्दै आएको प्रदेश सरकारले अब दुई लाख थप गरी तिन लाख पुर्याउन लागेको हो ।
प्रदेश सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा नै छोरीहरुको बीमा गर्ने निर्णय गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भने , “प्रदेशमा जन्मीने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन् । ” प्रभु बैंकको सहकार्यमा एक लाखको बीमालाई अब तीन लाख गरिने उनले बताए । सो रकमलाई अगामी दिनमा थप गरिँदै लगिने उनले बताए ।
छोरी शिक्षा विमा अन्तर्गत हालसम्म करिब १५ हजार विमा प्रदेश नम्बर दुई सरकारले गरि सकेको छ । विमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने भएकाछन् ।
यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको र यसै आर्थिक वर्ष देखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत गराए । साथै, उनले गत वर्ष १४ हजार साइकल बाँडेको जानकारी गराउँदै चालू आर्थिक वर्षमा प्रदेश नं. २ मा २० हजार छात्रालाई साइकल बाँड्ने बताए । यसमा संघीय सरकारले समेत अनुदान दिएको उनले जानकारी दिए ।
मुख्यमन्त्री राउतले जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी समेत गराए ।
शुक्रबार सम्पन्न मन्त्री परिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै मन्त्रिपरिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।

Advertisement