March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कोरोनाको समय १४ देशबाट उद्योग खोल्न लगानी भित्रियो, कुन देशबाट कति लागानी ?

कोरोनाको समय १४ देशबाट उद्योग खोल्न लगानी भित्रियो, कुन देशबाट कति लागानी ?

कोरोना महामारी करिब अन्त्य भएको आभाष हुन थालेपछि नेपालमा पनि आर्थिक गतिविधि चलायमान हुन थालेको छ । नेपाली उद्योगहरुले पनि गति लिन थालेका छन भने विदेशी लगानीकर्ताले पनि नेपालमा उद्योग दर्ता गर्न थालेका छन् । यस्तैक्रमा चालू आर्थिक वर्षको ९ महीनामा १४ देशका लगानीकर्ताले नेपालमा उद्योग दर्ता गराएका छन् । गत वर्षको तुलनामा यो वर्ष वैदेशिक लगानी प्रस्तावमा सुधार देखिएको छ । नेपालमा लगानी गर्न इच्छा देखाएर प्रक्रिया अघि बढाउने विदेशी व्यवसायीमा चिनियाँ अगाडि छन् । उद्योग विभागका अनुसार कुल वैदेशिक लगानी प्रस्तावमा ७३ दशमलव २१ प्रतिशत अंश चिनियाँ व्यवसायीको छ ।

Advertisement

चीनपछि यूरोपेली मुलुक स्पेनबाट सर्वाधिक विदेशी लगानीको प्रस्ताव आएको छ । विभागको तथ्यांकअनुसार चालू आवको चैतसम्ममा कुल ३३ अर्ब ३७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । त्यसमा चीनको अंश २४ अर्ब ४३ करोड रुपैयाँ बराबर छ । चिनियाँ लगानीकर्ताले नेपालको कृषि र वन, आईसीटी, उत्पादनमूलक, सेवा र पर्यटन क्षेत्रमा लगानी गर्न १२१ ओटा प्रतिष्ठान दर्ता गराएका छन् । चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी लगानी प्रस्ताव सेवा, पर्यटन र उत्पादनमूलक उद्योगमा गरेका छन् । चीनबाट सेवामूलक उद्योगमा १२ अर्ब रुपैयाँ लगानी प्रस्ताव जनाईएको छ । त्यसपछि पर्यटन उद्योगमा ९ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रस्ताव चिनियाँ लगानीकर्ताले गरेका छन् ।

Advertisement

चीनले प्रस्ताव गरेको लगानीअनुसार व्यवसाय सञ्चालनमा आए तिनमा ७ हजार ४७२ जनाले रोजगारी पाउने विभागले जानकारी दिएको छ । यस अवधिमा चीनपछि दोस्रो नम्बरमा स्पेनबाट झण्डैं ५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रस्ताव जनाईएको छ । स्पेनबाट पनि सेवामूलक क्षेत्रमा लगानी गर्ने प्रस्ताव आएको छ । त्यहाँका लगानीकर्ताले एउटा सेवामूलक प्रतिष्ठान विभागमा दर्ता गराएका छन् । उक्त व्यवसायमा ४ अर्ब ८५ करोड रुपैयाँ लगानी गर्ने उनीहरूको योजना रहेको जनाईएको छ । स्पेनको लगानीले २९ जनालाई रोजगारी दिईने जनाईएको छ । त्यसपछि धेरै लगानी प्रस्ताव गर्नेमा भारतीय व्यवसायी छन् ।

भारतीयले भने उत्पादनमूलक, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रस्ताव गरेका छन् । भारतीयले कुल १ अर्ब ७७ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । त्यसमध्ये धेरै सेवामूलक क्षेत्रमा १ अर्ब ३३ करोड लगानी प्रस्ताव छ । त्यसपछि उत्पादनमूलक क्षेत्रमा ३९ करोड रुपैयाँ लगानी गर्ने जानकारी दिईएको छ । सिंगापुरका लगानीकर्ताले पनि एउटा उत्पादनमूलक व्यवसाय दर्ता गरेर १ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । अमेरिकाबाट आएको लगानी प्रस्ताव यी पाँच देशको भन्दा कम भए पनि लगानीका क्षेत्र भने धेरै छन् । यो ९ महीनामा अमेरिकी लगानीकर्ताले ४० करोड रुपैयाँ लगानी गर्ने प्रस्तावसहित ९ ओटा प्रतिष्ठान दर्ता गराएको जनाईएको छ ।

यसमा आईसीटी, उत्पादनमूलक, सेवा र पर्यटन छन् । नेपालमा लगानी गर्ने छैटौं देशमा अस्ट्रेलिया छ । त्यहाँबाट यस अवधिमा ३४ करोड ५० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको बिभागले जानकारी दिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण धेरै रहेको विभागको तथ्यांकले देखाएको छ । कतिपय देशका लगानीकर्ताले पर्यटनमा मात्रै र सेवामा मात्रै लगानी गर्न चाहेका छन् । यीबाहेक फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्विजरल्यान्ड, नेदरल्यान्ड, भियतनाम र बेलायतबाट लगानी प्रस्ताव आएको छ । यीमध्ये ९ देशका व्यवसायीले पर्यटनमा लगानी गर्न चाहेका छन् ।