April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सेयर बजारमा १५.८२ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

सेयर बजारमा १५.८२ अंकको गिरावट आएको छ । शुक्रबार परिसूचक १५.८२ अंकले घट्दा २२३५.०९ को विन्दुमा ओर्लिएको छ । यस्तै, कारोबार रकम ९३ करोड रुपैयाँमा सिमित छ । यो करिब दुई वर्ष यताकै कम कारोबार रकम हो । अघिल्ला दिनहरुमा शुक्रबार कारोबार खुल्ने गरेको थिएन । तर, सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय सेयर कारोबारका लागि पेचिलो हुने देखिएपछि शुक्रबार पनि कारोबार सञ्चालन गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन गरेको थियो । सोहि अनुरुप जेठ महिनाको पहिलो शुक्रबार नेप्सेले कारोबार सञ्चालन गरेको हो । यद्दपी, लगानीकर्तालाई शुक्रबारको कारोबारको बारे ज्ञान नभएको देखिन्छ ।

Advertisement

कारोबारमा ह्रास आउनुको मुख्य कारण पनि सोहि रहेको जानकारहरु तर्क गर्छन् । बिहीबार २२५०.९१ को विन्दुमा बन्द भएको सेयर बजार शुक्रबार एक अंक बढेर ओपनिङ्ग लिएको थियो । मध्यान्हसम्म दोहोरहेको उतारचढावले परिसूचक २२५८.२६ विन्दुसम्म उक्लिएको समते थियो । तर, सो विन्दुको परिक्षण लगत्तै नेप्सेमा बिक्रेता सक्रिय भएको देखियो । मध्यान्हपश्चात बजार बिक्रेताले नियन्त्रण गरेका थिए । बिक्री चाप बढेपनि कारोबार रकम झन्डै आधा घटेको छ । शुक्रबार दिनभर करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

Advertisement

बिहिबार बजारमा एक अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको थियो । किनबेच रकमको अग्रस्थान आज अरुण काबेली पावर लिमिटेडको सेयर छ । अरुण काबेलीको ३० करोड रुपैयाँको सेयर कारोबारमा आयो । हिमालयन डिष्टिलरीको पनि २८ करोड रुपैयाँ अधिकको सेयर खरिद बिक्रि भएको छ । शुक्रबार सांग्रिला डेभलपमेन्टको २७ करोड ६१ लाख रुपैयाँको संस्थापक सेयर कारोबारमा आयो । व्यापार र अन्य उपसमूह अन्तर्गतका कम्पनीहरुमा सृजना भएको बिक्री चापले परिसूचकलाई ०.७० प्रतिशत घटाएको छ । यी उपसमूह २ प्रतिशत अधिक घटे । यस अतिरिक्त बीमा र वित्त उपसमूहका कम्पनीमा पनि बिक्रेता सक्रिय भएको भेटिन्छ । परिसूचक दोहोरो अंकले घट्दा समेत सामूहिक लगानी कोषका सेयरमा खरिदकर्ताको आकर्षण भने कायमै छ ।

उपसमूह आज ०.४६ प्रतिशत बढेको छ । ०.३१ प्रतिशत घटेको लघुवित्त उपसमूह विपरित सामुदायिक लघुवित्तका लगानीकर्ताले शुक्रबार सर्वाधिक कमाएका छन् । लघुवित्तको सेयर मूल्य २.७३ प्रतिशतको दरले बढेको छ । लक्ष्मी लघुवित्तको सेयर मूल्य पनि २.१६ बढेको छ । आज श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले पनि २.५९ प्रतिशतका दरले कमाए । यद्दपी, वित्त उपसमूहमा बिक्रेताको तीव्र चाप देखिएको थियो । यस अतिरिक्त ३८ अन्य कम्पनीको सेयर मूल्य आज बढेको पाइयो । १३९ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । शुक्रबार सबैभन्दा बढी घटेको तेह्रथुम पावर कम्पनीको सेयर मूल्य हो । कम्पनीका सेयरधनीले प्रति कित्ता ४.९४ प्रतिशतका दरले गुमाए । प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि ३.८९ प्रतिशतका दरले गुमाए । लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य पनि ३.८१ प्रतिशत घटेको छ ।