एनआइसी एसिया बैंक र नेपाल लाइफको संस्थापक सेयर लिलामीमा
एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्सुरेन्सले आज (असार २० गते) देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआइसी एसिया बैंकले बोलकबोल मार्फत १३ लाख १७ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले यसअघि बिक्री खुला गर्दा नबिकेपछि पुनः बिक्रीमा ल्याएको छन् । एनआइसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफले ५ लाख ९७ हजार ९२१ कित्ता बिक्री गर्ने भएको छ । कम्पनीको सो सेयरमा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । जसको न्युनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । आवेदन दिने व्यक्ति तथा कम्पनीले उक्त मूल्य भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ । यसमा असार २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले एनआइसीको सेयरमा न्यूनतम ४२५ रुपैयाँ र नेपाल लाइफको सेयरमा ७०० रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु मध्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउँनेछन् । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिन्छ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सक्ने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस्