December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

हिमालयन र सिभिल बैंक मर्जरका लागि सम्झौता हुँदै

हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्र(एमओयू)मा शुक्रबार हस्ताक्षर हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर टुटेपछि हिमालयन बैंक अर्को संस्था गाभ्नै पर्ने दबाबमा थियो । यसैगरी, नेपाल राष्ट्र बैंकले पनि असारभित्र मर्जरमा नगए यसअघि दिइएको सुविधा फिर्ता गर्ने मौखिक निर्देशन दिएको थियो । सोही अनुसार हिमालयन बैंकले मर्जरका लागि सिभिल बैंकलाई रोजेको हो । यी दुई बैंक मर्जर तथा प्राप्तिमा गएपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ बराबर हुने देखिएको छ ।

चालू आवको तेस्रो त्रैमाससम्म आउँदा हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ७ लाख २ हजार रुपैयाँ रहेको छ भने, सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ । चालू आवको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको जगेडा कोषमा ७ अर्ब ५४ करोड २२ लाख ७० हजार रुपैयाँ रहेको छ । यसैगरी सिभिल बैंकको जगेडा कोषमा १ अर्ब ४८ करोड ३ लाख ५८ हजार रुपैयाँ रहेको छ । मर्जर तथा प्राप्तिमा गएमा बैंकको जगेडा कोषको आकार ९ अर्ब रुपैयाँ बराबरको बन्ने देखिन्छ ।

Advertisement