बुढीगण्डकी जलविद्युतको लागि ४१ अर्व संकलन
फागुन ०७, काठमाडौँ ।
राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटाउन भन्दै सरकारले लिँदै आएको पुर्वाधार कर ४१ अर्ब संकलन गरेको छ । बुढीगण्डकी निर्माणका लागि पेट्रोलियम पदार्थको आयातमा प्रतिलिटर ५ रुपैयाँ पुर्वाधार कर उठाउने घोषणा गरेको थियो । सरकारले आर्थिक वर्ष ०७३÷७४ को बजेटमार्फत कर उठाउने घोषणा गरेपछि उक्त रकम उठाएको हो ।
गत साउनदेखि माघ १५ गते सम्म मात्र ६ अर्ब ५६ करोड संकलन भएको छ । नेपालमा आयात हुने पेट्रोलियम पदार्थमा पुर्वाधार कर शिर्षकमा लिइँदै आइएको यस्तो कर गत आर्थिक वर्षमा मात्र १३ अर्ब ५६ करोड संकलन भएको भएको थियो । १२ सय मेगावाट क्षमताको बहुप्रतिक्षित आयोजना निर्माणका लागि कर उठाइएपनि आयोजनाको निर्माणको मोडालिटी तथा वित्तीय व्यवस्थाको टुङगो नलाग्दा निर्माण कार्य अघि बढ्न सकेको छैन् ।
यद्यपी करबाट उठेको रकमबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिएको छ । प्रभावितलाई हालसम्म ४६ हजार ५ रोपनी जग्गाको २७ अर्ब ५० करोड ३८ लाख मुआब्जा वितरण गरिएको र बाँकी जग्गाको पनि मुआब्जा निर्धारण गर्न लागिएको आयोजनाले जनाएको छ । आर्थिक वर्ष ६९÷७० मा सुरु गरेर आगामी आर्थिक वर्ष भित्र आयेजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि अझै अन्योल छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि १३ अर्ब ५७ करोड ५६ लाख बजेट विनियोजन गरीएपनि पुष मसान्तसम्म जम्मा १ अर्ब २ करोड २३ लाख रुपैयाँ मुआब्जा वापत खर्च भएको छ ।
प्रतिकृया दिनुहोस्