May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या

भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या

स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् ।

Advertisement

कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताउनुभयो । उहाँले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको बताउनुभयो । सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उहाँले जानकारी दिनुभयो । भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उहाँको भनाइ छ ।

Advertisement

नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ । नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ । नेपालमा वार्षिक रु ३० करोड ३४ लाख बराबरको मह आयात हुँदा रु १६ करोड ८१ लाखको मह निर्यात भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताउनुभयो । उहाँले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गर्नुभयो । उहाँका अनुसार पछिल्लो चार महिनामा दुई सय मेट्रिक टन मह आयात भएको छ ।

मौरीविज्ञ डा शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभएको छ । मौरी र पर्यावरण विषयमा कार्यपत्र पेस गर्नुभएका रिजालले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राख्नुभयो । मह दिवसका अवसरमा नेपाल मौरीपालक महासङ्घ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई महसमेत खुवाएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहका प्रमुखलाई राखेर समस्याका समाधान खोजिने बताउनुभयो ।

मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवन, कृषि ज्ञान केन्द्र र नेपाल मौरीपालन महासङ्घ चितवनले अन्तक्र्रिया र सर्वसाधरणलाई मह खुवाएर मह दिवस मनाएका हुन् ।