June 16, 2024, Sunday
२ असार २०८१, आईतवार

बैंकको ब्याजदर महँगो छैन : बैंकर्स संघ

बैंक तथा वित्तीय संस्थाका ब्याजदर महँगो नभएको नेपाल बैंकर्स संघले दाबी गरेको छ । बैंक तथा वित्तीय संस्थाको महँगो ब्याजदरका कारण उद्योग व्यवसाय धराशयी हुन थालेको गुनासो गर्दै उद्योगी, व्यवसायीले विरोध गरिरहेका बेला नेपाल बैंकर्स संघले अहिलेको ब्याजदर महँगो नभएको दाबी गरेको हो ।

Advertisement

संघका अध्यक्ष सुनील केसीका अनुसार पछिल्लो समय बैंकहरूले विद्युतीय सवारीसाधनमा लगानी बढाएका छन्। उत्पादनमूलक क्षेत्रमा पनि बैंकहरूको लगानी बढिरहेको उनले दाबी गरे। केसीले घरजग्गाको कारोवार कम हुँदा खराब कर्जा बढेको बताए।

Advertisement

हाल वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १३.३ प्रतिशत रहेको छ । ‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महँगो भयो भन्न मिल्दैन। अहिलेको ब्याजदर लकडाउन हुनुअघिको अवस्थामा पुगेको मात्रै हो। यो ब्याजदर पनि घटाउन प्रयत्नरत छौं,’ केसीले भने

आन्दोलन गरेर बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटबढ नहुने उनको चेतावनी छ । ‘ब्याजदर माग र आपूर्तिले निर्धारण गर्छ भन्नेमा हामी सबै सचेत हुनु जरुरी छ’, केसीले भने ।

बैंकिङ क्षेत्रमाथि चारैतिरबाट आक्रमण भइरहेको उनले आरोप लगाए। ब्याजदरका नाममा चार करोड खातावाल र समग्र औद्योगिक क्षेत्रमाथि हमला भएको उनको भनाइ छ।

‘आक्रमण बैंकिङ क्षेत्रमाथि भएजस्तो देखिए पनि यो समग्र औद्योगिक क्षेत्रमाथि भएको हो। देशमाथि आक्रमण भएको हो, साढे चार करोड खातावालमाथि आक्रमण भएको हो,’ अध्यक्ष केसीले भने।

बैंक, वित्तीय संस्थाविरोधी क्रियाकलापको असर दीर्घकालसम्म रहने र सिंगोे राष्ट्रले नै मूल्य चुकाउनुपर्ने उनको भनाइ छ। ‘यस्ता गतिविधिले वैदेशिक लगानीमा गम्भीर असर पार्छ, जसको असर अर्थतन्त्रले भोग्नुपर्छ,’ अध्यक्ष केसीले भने, ‘बैंकहरूले विदेशबाट पैसा ल्याउन सुरु भएका बेला यस्तो हुनु गलत छ।’