April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मधेशमा आज दोस्रो दिन पनि ‘जुडशीतल’ पर्व मनाइँदै

मधेशमा आज दोस्रो दिन पनि ‘जुडशीतल’ पर्व मनाइँदै

महोतरी- मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्वले उल्लासमय बनेका छन् । बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ ।

Advertisement

नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् । वैशाख अर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ ।

Advertisement

पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, व्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । यसलाई बोलीचालीमा ‘सतुवाइन’ पनि भनिन्छ ।

त्यसैगरी दोस्रो दिन आज घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ ।

परम्पराअनुसार आज घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिएका छन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहिआएको छ ।

जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । दोस्रो दिन घरका परिवारजन आफ्नो खेतबारी डुल्छन् । मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ ।

पछिल्लो काल नयाँ वर्षमा ‘पिकनिक’ (वनभोज) जाने चलन बढ्दै जानुले किशोर र युवाका लागि यो पर्व थप रमाइलो बनेको छ । ‘जुडशीतल’ मिथिलाको सांस्कृतिक पर्व हो ।