March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ : मन्त्री भुसाल

खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताएका छन् ।

Advertisement

मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताए ।

Advertisement

कृषि र पशुपालनमा उत्पादन वृद्धि भएमा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन बढाउन सकिने उनको भनाइ छ ।

“पहिले खाद्यान्न निर्यात गथ्र्यौँ, अहिले खाद्यान्न आयात गर्छौ । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो,” उनले भने, “तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ ।”

भूमिकास्थान नगरपालिकामा आयोजित कृषिमन्त्री भुसालको सम्मान तथा अन्तरक्रियामा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र त्यस्तो जग्गामा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताए ।

बाँझो जमिनमा एकल खेती होइन, सामूहिक तबरको खेती गरिने उनले बताए । पहिलेजस्तो गोरुले जोतेर, कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायीकरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यता रहेको बताए ।

उनले धान, मकै, गहुँलगायतको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने बताए । उनले यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिए ।

भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले नगरपालिकामा रहेको पाखोबारी तथा खेतका फाँटमा अन्नबाली, फलफूल, तरकारी र जडीबुटीको माध्यमबाट उत्पादन वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कृषि र पशुपालनलाई पहिलो प्राथमिकता राखेर नगरले काम सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताए । भूमिकास्थान नगरपालिकाको वडा नं १० धनचौरमा जन्मिएका मन्त्री भुसालको सम्मानमा नगरले कार्यक्रम गरेको थियो ।