नेपाली फूलले नै तिहार धान्दै भारतबाट न्यून आयात गरे पुग्ने
कार्तिक ३, काठमाडौं– विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा विदेशबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । फूलको व्यावसायिक खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ ।
मागअनुसार सयपत्री, गोदावरी र मखमली फूलको माला उपलब्ध भएकाले मूल्यमा खासै असर नपर्ने व्यवसायीको भनाइ छ । सयपत्री फूलको माला (एक मिटर) ७० रुपैयाँसम्म र मखमलीको माला ५० रुपैयाँसम्म उपलब्ध हुने व्यवसायी बताउँछन् । गोदावरी फूलको माला भने प्रतिगोटा २ सय ५० रुपैयाँभन्दा बढी पर्नेछ । गत वर्ष १७ लाख माला खपत भएको थियो । सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो भने बाँकी स्वदेशी उत्पादन हो । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । तर यो बर्ष पनि माला कम मात्र आयात हुने सम्भावना रहेको ब्यावसायी बताउँछन् ।
विगत केही वर्षयता मखमली फूलको माला विदेशमा निर्यात हुन थालेको छ । चाँडै नओइलाउने, तुलनात्मक रूपमा सस्तो र ढुवानी गर्न सजिलो हुने भएकाले मखमलीको माला विदेशमा रहेका नेपालीमाझ लोकप्रिय भइरहेको व्यवसायीको भनाइ छ । मखमली फूल वा माला धेरै मात्रामा अष्ट्रेलिया जाने गरेको छ । त्यसपछि जापान, बेलायत, क्यानडा, अमेरिकालगायत खाडी मुलुकमा समेत माग छ । गत वर्ष भारतबाट ३० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात प्रतिशत मात्रै फूल ल्याइने फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।
यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको माला खपत हुने एशोसिएशनको अनुमान छ । व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको छ । फूल उत्पादनको वृद्धिसँगै उपभोक्ताको माग पनि बढेको छ । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँ सम्म बढी तिर्नुपर्ने देखिन्छ । स्वदेश र विदेशमा गरी वार्षिकरूपमा एक अर्ब ८५ करोड रुपैयाँको फूलको कारोवार हुँदा तिहारमा मात्रै रु एक करोड फूलको कारोवार हुन्छ । तिहार आउनुभन्दा एक साता अघिबाट मात्रै आयातित फूल ल्याउन शुरु गरिन्छ । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । यस व्यवसायबाट ४२ हजारभन्दा बढी व्यक्ति समेल छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यावसायिक खेती गर्दै आएका छन् ।
चाडबाड र अन्य समयमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । तिहार र अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्