April 21, 2025, Monday
[nepali_today_date]

मदिरा पिउने घट्दा राजश्व सङ्कलनमा कमी

मदिरा पिउने घट्दा राजश्व सङ्कलनमा कमी

आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ९८ करोड १९ लाख ५६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

Advertisement

यो लक्ष्यको तुलनामा रु ७६ करोड ६४ लाख ४८ हजार कम हो। उक्त अवधिका लागि कार्यालयलाई दुई अर्ब ७४ करोड ८४ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए।तर अन्तःशुल्क घटेको कारणले लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको उनको भनाई छ। यसैगरी अन्तःशुल्कतर्फ एक अर्ब ४४ करोड १४ लाख ५७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा उक्त अवधिमा ६१ करोड ४८ लाख ७४ हजार रुपैयाँ मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ।

Advertisement

विकास निर्माणको काम ढिलो गतिले हुनु, जग्गाको कारोबार नहुनु र मादकपदार्थको बिक्रीमा पनि कमी आउनुजस्ता कारणले राजस्व असुली कम भएको प्रमुख सापकोटाको भनाइ छ।

उक्त अवधिमा आयकरतर्फ ७५ करोड ८४ लाख २८ हजार, मूल्य अभिवृद्धि करतर्फ ६० करोड ८३ लाख ८८ हजार, अन्तःशुल्कतर्फ ६१ करोड ४८ लाख ७४ हजार, स्वास्थ्यसेवा करतर्फ ५२ हजार तथा शिक्षा करतर्फ दुई लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ।

लक्ष्यको तुलनामा आयकरतर्फ १०६ दशमलव ४१ प्रतिशत र मूल्यअभिवृद्धि करतर्फ १०३ दशमलव ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको तर अन्तःशुल्कतर्फ लक्ष्यको तुलनामा ४२ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन हुनुले समग्र राजस्व सङ्कलनमा कमी आएको प्रमुख सापकोटाले बताए। उनका अनुसार कार्यालयसँग आवद्ध भएका एक लाख ४३ हजार करदातामध्ये व्यापारिक उद्देश्यका करदाता ६१ हजार रहेका छन्। (रासस)