चीनले खोल्यो ४ समुन्द्री र तीन सुख्खा बन्दरगाह
माघ ०१, काठमाडौं ।
उत्तरी छिमेकी देश चीनसित ब्यापरिक सम्झौता गर्ने व्यावसायीहरु यतिखेर उत्साहित भएका छन् । यसरी उत्साहित हुनको एकै कारण हो नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार चीनले नयाँ बन्दरगाह खोल्नु । चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला गरेपछि नयाँ बाटो, नयाँ शहर र नयाँ बजारका लागि सरकारले सह्राहनीय काम गरेकोले ब्यावसायी उत्साहित बनेका हुन् ।
चीनले पछिल्लो समझदारी अनुसार लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह खोलेको हो । नेपाल र चीनबीच रसुवाको केरुङ्ग, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका भएर ब्यापार गर्न सक्ने समझदारी भएको थियो ।
सडकमार्फत सिगात्सेबाट काठमाडौँ आईपुग्न ७३४ किलोमिटर यात्रा गर्नुपर्ने छ । काठमाडौंबाट केरुङ्गसम्मको दुरी १ सय ८७ किलोमिटर छ भने केरुङ्गबाट सिगात्से पुग्न ५ सय ४८ किलोमिटर यात्रा गर्नुपर्छ । यसका अलवा ती बन्दरगाह भएर नजिकको विमानस्थलबाट हवाइजहाजमा पनि नेपालले व्यापार गर्न सक्नेछ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म नेपालले अनुमति पाएका समुन्द्री बन्दरगाहबाट रेलमार्फत ढुवानी सुबिधा उपलब्ध छ ।
गत आर्थिक वर्ष नेपालले भारत र चीनसँग मात्रै ११ खर्ब ८६ अर्बभन्दा धेरैको व्यापार छ । नेपालको कुल व्यापार १४ खर्ब १८ अर्ब ५३ करोडमध्ये भारतसँग मात्र ९ खर्ब ७९ अर्बभन्दा धेरैको भयो भने चीनसँग २ खर्ब ७ अर्ब ६१ करोडको छ । बाँकी २ खर्ब ३२ अर्बको भन्दा धेरैको व्यापार भने तेस्रो मुलुकसंग भएको देखिन्छ । नेपालले चीनका चार समुन्द्री बन्दरगाहबाट व्यापार अनुमति पाएसँगै झण्डै ४ खर्बको (चीनसँग २ खर्बभन्दा धेरै र तेस्रो मुलुकसँग २ खर्ब ३२ अर्बभन्दा धेरै) व्यापार अब हिमाल छिचोलेर चीनीयाँ बन्दरगाहमार्फत गर्न बाटो खुलेको छ ।
प्रतिकृया दिनुहोस्