बालुवाटारको जग्गा धितोमा राख्दा आठ बैंक समस्यामा, बैंकबाट ३० अर्ब ऋण लिएको खुलासा
१५ कार्तिक, काठमाडौं –
सरकारी भोगचलनमा रहेपनि जालसाजीले व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्र गतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । यो जग्गा चिरा मात्र होइन भूमाफिया आफैँले र उनीहरुमार्फत जग्गा किनेका जग्गाधनीले विभिन्न आठ वाणिज्य बैंकबाट ऋण लिएको पाइएको छ । हाल बालुवाटरको जग्गा प्रभु बैंक, इन्भेस्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक, , सिद्धार्थ बैंक, एभरेस्ट बैंक, र एसबिआई बैंकबाट निकालिएको मालपोत कार्यालय स्रोतले जनाएको छ । यि आठै बैंकले बालुवाटरको जग्गा राखेर करिब ३० अर्ब ऋण निकालेको खुल्न आएको छ । सरकारी जग्गा धरौटी राखेर व्यक्तिले पैसा लिएको विषयमा नेपाल राष्ट्र बैंक भने बेखबर देखिन्छ । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ । यतिखेर डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोजी गरिरहेको छ । अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ र सरकारसँग रहेको ८३ कित्ता जग्गा भेटिएको छ ।