जुनै एटिएमबाट रकम निकाले पनि शुल्क नलाग्ने
चैत ०८, काठमाडौं ।
तपाई घरमा पैसा नभएर चिन्तत हुनुहुन्छ ? या त आफुले कारोवार गर्ने बैंकको एटिएम काउण्टर टाडा भएकोमा चिन्तत हुनुहुन्छ ? यदी छ भने चिन्ता नलिनुहोस् । तपाईले घरै पायक पर्ने अर्थात् घर नजिकैको जुनसुकै एटिएमबाट पनि पैसा निकाल्न सक्नु हुन्छ । अब जुनसुकै एटीएम बुथबाट पैसा निकाले पनि शुल्क नलाग्ने भएको छ । नोभल कोरोना भाइरस कोभिड—१९ संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क एटिएम कारोबारको सुविधा दिएका छन् ।
यसअघि एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था थियो । अब वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीमध्ये कुनै पनि संस्थाको कार्ड अर्को जुनसुकै संस्थाको बुथमा प्रयोग गर्दा पनि शुल्क लाग्दैन् ।
बैंक शाखा कार्यालयमा मानिसहरुको भीड कम होस् भनेर बैंकहरुले विद्युतीय कारोबारलाई जोड दिएका छन् । यसका लागि मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङमा पनि शुल्क मिनाहा गर्ने निर्णय भएको छ ।
नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने ‘कनेक्ट आइपीएस’ सेवामा पनि शुल्क नलाग्ने भएको छ । यसअघि इण्टरनेट र मोबाइल बैंकिङको सेवा लिएर पासवर्ड बिर्सिएका वा अन्य कुनै कारणले प्राविधिक समस्यामा परेका ग्राहकले टेलिफोनमार्फत् सोध्न पनि बैंकरहरुले आग्रह गरेका छन् । शुक्रबार नेपाल बैंकर्स संघ, डेभेलपमेण्ट बैंकर्स एशोसियशन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त बक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । उनीहरुले अत्यावश्यक अवस्थामा बाहेक बैंक शाखामा नजान आग्रह गरेका छन् ।
बैंकरहरुले नोट (पैसा) बाट अत्यन्त चाँडो र सजिलै भाइरस संक्रमण हुने जोखिम भएको भन्दै नगद कारोबार सकेसम्म कम गर्न आग्रह गरेका छन् । विश्वव्यापी रुपमै नगद पैसाको कारणले रोगको संक्रमण छिटो भएको ‘रिपोर्टिङ’ भएको छ । तर, विश्व स्वास्थ्य संगठनले भने दश दिनअघि बक्तव्य नै निकालेर नोटका कारण भाइरसको तीव्रता नबढेको बताएको थियो ।
प्रतिकृया दिनुहोस्