लकडाउनलाई यसरी प्रयोग गर्नुहोस्
–ईश्वर उप्रेती
हाल विश्वव्यापी महामारी रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण चीनबाट शुरु भई भाइरसको संक्रमणका कारण अमेरिका र युरोप लगायत विश्वका अधिकांश देशहरुलाई कमजोर बनाइरहँदा राज्यले लगाएको लकडाउन ( Lock Down ) र सरकारको निर्देशन बमोजिम अनुशासित व्यवहारले चीन भने यसको असरबाट केही माथि उठ्न थालिसकेको र हालसम्म चीनको ८० प्रतिशत आर्थिक गतिविधि सुचारु भइसकेको संचार माध्यमहरुले बताइरहेका छन् । अन्य विभिन्न व्यवसाय तथा कार्यालयहरु पनि आफ्नो कार्यमा फर्किएका छन् ।
बैंक खुल्ने कि नखुल्ने अन्यौलता
नेपालमा यतिबेला चैत ११ गतेबाट १७ गतेसम्मको लागि सरकारले कोरोनाको संक्रमणबाट नागरिकलाई बचाउनको लागि लकडाउन घोषणा गरेको छ । नागरिकहरु दैनिक खाद्यन्नहरको अभाब हुने, बैंक बन्द हुने त्रासले आत्तिएर आवश्यकता भन्दा धेरै खाद्यन्नहरु जोहो गर्ने तथा अधिक पैसा झिक्ने गरिरहका छन् जुन वित्तीय अनुशासनलाई तोड्ने, सिस्टमलाई खल्बल्याउने र अभाब श्रृर्जना गर्नको लागि प्रोत्साहन पुगिरहेको छ । लकडाउनको समयमा बैंक खुल्छ कि खुल्दैन भनेर अन्यौलग्रस्त अवस्था रहेको छ । ग्राहकको सहजताको लागि स्थानीय प्रशासनको समन्वयमा आवश्यकता अनुसार बैंकिङ्ग कारोबार गर्ने गरी सिमित अवधिको लागि बैंकका केही शाखाहरु खोल्ने तथा एटिएम सेवा नियमित सुचारु गरिराख्ने तयारी बैंकहरुले गरेका छन् । विद्युुतिय कारोबारलाई सहज बनाउन बैंकहरुले कल सेन्टर संचालन गरेका छन् । सकेसम्म शाखामा नगई घरबाटै विद्युतिय माध्यमहरु जस्तै कनेक्ट आइपिएस, विभिन्न कम्पनीका मोवाइल वालेट्स, एटिएम, क्यूआर कोड, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैंकिङ्ग तथा अनलाइन पेमेन्ट सर्भिस बाट पनि घरमै बसी रकम भुक्तानी गर्न सकिन्छ । कतिपय कम्पनीहरुले त विद्युुतिय भुक्तानीबाट हुने कारोबारबार यस समयमा निःशुल्क गरेका छन् । यो समय विधुतिय कारोबार चलाउन सिक्ने अवसर पनि हो । अहिले विद्युतिय कारोबार चलाउन सिके पछि पनि विद्युतिय माध्यमवाट कारोबारबाट कारोबार गर्दा अहिलेको व्यस्त जीवनमा समयको बचत गर्न सकिन्छ । साथै बैंकका शाखाहरुले कम्तिमा दुई जना सम्पर्क व्यक्ति तोक्ने र सेवा दिने बैंकर्स एशोसियसनले बताएको छ ।
लकडाउनलाई यसरी पनि प्रयोग गर्नुहोस्
हरेक घटनाले अवसर र चुनौती संगै लिएर आएको हुन्छ । कोरोनाको संक्रमणबाट बच्नको लागि सरकारले लकडाउन घोषणा गरेको छ, यस समयमा प्राय सबै मानिसहरु आफ्नो नियमित कार्य गर्ने समयमा घरमा बसिरहेका छन् । यो घरबसाई निष्क्रिय वा बोरिङ्ग नहोस् भन्नको लागि केही कार्यहरु घरमा बसि गर्न सकिन्छ । जस्तै लामो समयदेखि घरमा बिग्रिएका, टुटेका, फुस्किएका, च्यातिका, मैला भएका, उध्रेका जुन सामान्य मर्मतबाट पुनः प्रयोगमा ल्याउन सकिन्छ त्यस्ता चिजबस्तुलाई घरमा बसिबसी यस समयमा मर्मत गरिदा समयको सदुपयोग पनि हुन्छ र पैसाको बचत पनि हुन्छ । यदि तपाईको अध्ययन गर्ने बानी छ भने आफुलाई मनपर्ने पुस्तक, लेख वा अन्य विषयगत ज्ञानगुनका कुराहरु अध्यन गर्न सकिन्छ, आजकाल अनलाइनबाट पनि पुस्तक पढ्न सकिन्छ । त्यस्तै हेर्न मन लागेको तर समय नमिलेको कुनै ऐतिहासिक फिल्म, भिडियो, अन्तरवार्ता वा मनोरन्जनात्मक कुनै फिल्महरु परिवारसंग बसेर हेर्न सक्नु हुन्छ जसले पारिवार प्रति माया प्रेम बढ्छ भने असमझदारीहरु हटेर जान्छ । समय भए देखि यसो गर्थे उसो गर्थे भन्नेहरुको लागि यो एकदम उपयुक्त समय हो गरिहाल्नुहोस् । कुनै महत्वपूर्ण लगानी, सम्पत्ति, ऋण, उधमशिलता, भ्रमणका सम्वन्धमा घरायसी सरसल्लाह गर्नु छ भने यो उपयुक्त समय पनि हो । कामको व्यस्तताले टाडा भएका आफन्त, इष्टमित्र वा हितैसीलाई फोन सम्पर्क गर्न सक्नुभएको थिएन भने यो एकदम उपयुक्त समय हो । सम्बन्धमा सुधार ल्याउनको लागि फोन गरिहाल्नुहोस् । परिवारलाई मिठो खानेकुरा बनाएर खुवाउने मन र शिप छ भने यो सही समय हो । घरको सरसफाई, बंगैचा, करेसाबारीको गोडमेल गर्न सक्नुहुन्छ । सुमधुर संगितको तालमा नाच्न वा गित गाउदैं स्ट्रेस कम गर्न सकिन्छ । एकोहेरो खाने बस्ने मात्र गर्दा अपच भई अन्य रोग लाग्न पनि सक्छ त्यैसैले घरमै ब्याम, योगा, मेडिटेसन, स्ट्रेचिङ्ग जस्ता शारिरिक कसरत गर्न सकिन्छ । घरमा बालबालिका छन् भने अघिपछि अनलाइन सपिङ्ग गर्दा भरपर्दो र सुरक्षित साइटबाट मात्र कारोबार गर्न सचेत हुन सिकाउनुहोस् र एन्टिभाइरसको बारेमा पनि जानकारी दिनुहोस् । कुनै इनोभेटिभ कार्य गर्न रुचि छ भने पनि यस समयमा डिष्टर्ब नहुने हुनाले उपयुक्त हुन्छ । बालबालिका तथा युवाहरुलाई क्रेडिट कार्ड भन्दा डेविट कार्ड प्रयोग गर्न सिकाउ, समय समय मा कारोबारको स्टेटमेन्ट रुजु गर्न सिकाउनुहोस, पासवर्ड सुरक्षाका बारेको भन्नुहोस । लकडाउनमा नियमित बचत गर्ने, फजुल खर्चबाट बच्ने, आर्थिक जोखिमलाई कम गर्ने, बजेट बनाउने, आय, बजेट, कर्जाको बारेमा वित्तीय साक्षरताको माध्यमबाट ज्ञान प्राप्त गर्न सक्ने कुरा बताउनुहोस । जन्मदिन जस्ता विशेष अवसरहरुमा बालबालिकाहरुलाई भौतिक उपहार भन्दा नगदै दिने बानि बसाल्न सिकाउनुहोस् जसले बचतको लागि जोड दिन्छ र बचत गर्ने बानीको बिकास हुन सकोस । साथै घरमा कुनै चिज बस्तु भांचियो, बिग्रियो भने त्यसलाई फालेर अर्को किन्ने होइन, त्यसलाई बनाउन, जोड्न सिकाउनुहोस जसले भविष्यमा ठूलो संख्यामा पैसा बाहिर जाने संस्कार निरुत्साहित हुन सक्छ र बचतको संस्कार बढ्न जान्छ । यस समयमा साना साना बालबालिकालाई पैसाको नोट देखाउनुहोस र चिनाउनुहोस । इच्छा र आवश्यकता बीचको भिन्नता बताउनुहोस्, बचतको उद्धेश्य र योजना बनाउन सिकाउनुहोस, दीर्घकालमा बचतको महत्व बताउनुहोस । बचत खातामा ब्याज कसरी आउछ, र मौज्दात बढ्दै जान्छ देखाउनुहोस । पैसा छैन भने खर्च नगर्न भन्नुहोस । शेयर, बिमाको बारेमा सामान्य जानकारी दिने गर्नुहोस । वित्तीय साक्षरताले ब्यक्तिमा आर्थिक जीवनका बिभिन्न पक्षकोे जानकारी दिने हुंदा सुजबुझपूर्ण तरिकाले निर्णय लिन सिकाउने, फजुल खर्च, दुब्र्यसनबाट जोगाउने, जालसाजी र ठगीबाट जोगाउने, आवश्यकताको पूर्वानुमान गर्ने, उद्यमशिलताको बिकास गर्ने तथा सकारात्मक सोच र भावानाको समेत विकास हुन गई मानिसको आर्थिक अवस्थामै सकारात्मक परिवर्तन आउन सहयोग पुग्ने हुंदा लकडाउनको समयलाई बालबालिकाको सिकाइमा प्रयोग गर्न सके समयको सदुपयोग पनि हुने र भविष्यमा असल नागरिक बन्न उत्प्रेरित हुन सक्छन ।।
निष्कर्ष
अन्तमा, वर्तमान अवस्थामा नागरिकमा कोरोना भाइरस सम्बन्धी ब्यापक संत्रास छ, यस्तो समयमा कोरोना भाइरस विरुद्ध लड्ने कार्यमा सरकारको एक्लो प्रयासले परिणाम नआउन सक्छ हामी सबै नागरिहरुले सरकारी निर्देशनहरुको अनुपालना गरी सरकारलाई साथ दिनु पर्दछ । विज्ञानको उपलब्धि, राज्य र संचार माध्यमलाई हामीले विश्वास गर्नु पर्दछ र संङ्कटको बेलामा त झनै बढी विश्वासको आधार तयार पार्नु सम्बन्धित पक्षको उत्तरदायित्व हुन आउंछ । अहिले सरकारले दिएको निर्देशन सरकारको कुनै राजनीतिक अभिलाषा पुरा गर्नको लागि होइन नागरिककै सुरक्षाको लागि हो भन्ने बुझौं । यस्तो बेलामा सम्बन्धित विशेषज्ञहरुले दिने वाहेक अन्य जथाभावी सूचनाहरु प्रवाह नगरौं । विशेषज्ञहरुको भनाइ अनुसार घरमै बसौं, मास्क प्रयोग गरौं, भिटामिन सी प्राप्त हुने फलफुल प्रयोग गरौं, समयमै ताजा खाना खाउं, मनतातो पानी पिउं, घाम तापाँै, बेलाबेलामा साबुनपानीले हात मिचिमिच धुऔं, हेण्ड सेनिटाइजर लगाउ, भिडभाडमा नजाऔं, हाछ्यु गर्दा, खोक्दा छोपेर गरौं, कोरोना भाइरसको लक्षण देखेमा नजिकको स्वास्थ्य संस्था, प्रहरी वा स्थानीय सरकारलाई सम्पर्क गरौं । यदि सरकाले दिएको निर्देशन हामीले पालना गरेनौ भने कसैले भनेको जस्तै हामी घरमा बस्ने की, अस्पलातमा बस्ने की, फोटोमा बस्ने हाम्रै हातमा छ । त्यसैलै खेलाँची नगरौं, कोरोना भाइरसबाट आफु पनि बचौ अरुलाई पनि बचाऔ ।।।
प्रतिकृया दिनुहोस्